फेसबुक-ट्वीटरमा गरिने विज्ञापनमा कर लगाउन निर्देशन

तातोखबर 2018-08-20 13:17:09 आर्थिक

काठमाडौं : सरकारले सामाजिक सञ्जालहरु फेसबुक र ट्विटरसहितका सामाजिक सञ्जालमा हुने विज्ञापनमा पनि कर  लगाउने तयारी गरेको छ । 

फेसबुक र ट्वीटरसहितका सामाजिक सञ्जालबाट विज्ञापनका नाममा आर्थिक कारोबार भइरहेको निचोड निकाल्दै संसदीय समितिले नै कर लगाउन सरकारलाई निर्देशन दिएको हो । 

प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको सोमबार बसेको बैठकले सामाजिक सञ्जालमार्फत् विज्ञापन गरिँदा करोडौँको कारोबार भइरहेको जनाउँदै करको दायरामा ल्याउन सरकारलाई निर्देशन दिने निर्णय गरेको हो । 

समितिको बैठकले निर्णय गरेर सरकारलाई निर्देशन दिएपछि अब सामाजिक सञ्जालमा हुने विज्ञापन पनि करको दायरामा आउने छन् । 

‘फेसबुक, ट्वीटरसहितका सामाजिक सञ्जालमा विज्ञापन गर्दा ठुलो रकम बाहिरिने गरेको तथ्यलाई मनन गर्दै यसलाई करको दायरामा ल्याउन समिति नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र अर्थ मन्त्रालयलाई निर्देशन गर्दछ,’ समितिको निर्णयमा भनिएको छ। 

सरकारले यसअघि नै सामाजिक सञ्जालमा हुने विज्ञापनललाई करको दायरामा ल्याउने तयारी गरेको थियो । संसदीय समितिले पनि लिखित निर्देशन दिएपछि अब निकट भविष्यमै यस्ता विज्ञापन करको दायरामा आउनेछन् । 

समितिका सदस्य तथा सांसदहरुले समितिको बैठकमा उपस्थित सञ्चारमन्त्री गोकुलप्रसाद बाँसकोटासँग सञ्चारमन्त्रालयका गतिविधिहरुबारे प्रश्न गरेका थिए । सांसहरुले नेपाल टेलिकमको रणनितिक साझेदार, फोरजी सेवामा भएको हिनामिनासहितका विषयमा मन्त्रीसँग प्रश्न गरेका थिए । सांसदहरुले मन्त्री बाँसकोटासँग सञ्चारक्षेत्रलाई नियमन गर्नेबारे पनि प्रश्न गरेका थिए । 

त्यसक्रममा मन्त्री बाँस्कोटाले सञ्चार क्षेत्रको नियमनका लागि साइबर कानुन निर्माणको क्रममा रहेको बताएका थिए । उनले संघीय संरचना अनुसार सरकारी प्रसारक संस्थान नेपाल टेलिभिजन सातै प्रदेशमा विस्तारका लागि काम भइरहेको बताए । उनलले नेपाल टेलिकमका टावर देशभर विस्तारको काम पनि अघि बढिरहेको बताए । 

बाँस्कोटाले मन्त्रालयका गतिविधि, भावी योजना र रणनीतिबारे समितिलाई जानकारी गराएका थिए । उनले निकट भविष्यमै नेपाल टेलिकममा रणनीतिक साझेदार ल्याउने तयारीमा पनि सरकारले काम थालेको बताएका थिए । anpurnapost

पत्रपत्रिकाबाट

बिशेष विज्ञापन

Like Us On Facebook