हर्नामाडी इलाका स्तरीय वनसम्बन्धी अन्तरक्रिया गोष्ठी सम्पन्न

तातोखबर 2018-03-21 13:21:41 सामाजिक

    हेटौंडा, चैत्र ७ / हेटौंडा उपमहानगरपालिकाको पूर्वी भेगीय सामुदायिक वनहरुको समितिद्वारा ‘हर्नामाडी इलाका स्तरीय वनसम्बन्धी अन्तरक्रिया गोष्ठी सम्पन्न गरिएको छ । हर्नामाडी इलाका स्तरीय सामुदायिक वन समन्वय तथा अनुगमन समितिले हेटौंडा उपमहानगरपालिका १८ स्थित समितिको एक सभाभवनमा उक्त गोष्ठी सम्पन्न गरिएको हो ।
    प्रदेश नं. ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुणप्रसाद नेपालको प्रमूख आतिथ्यमा सम्पन्न उक्त गोष्ठी समितिका अध्यक्ष अर्जुनप्रसाद दाहालको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रमा विशिष्ठ अतिथिका रुपमा सामुदायिक वन उपभोक्ता महासंघ नेपालकी महासचिव भारती पाठक र जिल्ला वन कार्यालयका प्रमूख जिल्ला वन अधिकृत प्रल्हादप्रसाद धितालको विशिष्ठ आतिथ्यता रहेको थियो । सहायक वन अधिकृत शालीग्राम भट्टराई, स्थानीय हेटौंडा उपमहानगरपालिका वडा न १६,१७ र १८ का वडा अध्यक्षहरुको समेत आतिथ्यता रहेको उक्त कार्यक्रममा समितिमा आवद्ध १५ वटै वन समितिका अध्यक्षहरुको सहभागिता रहेको थियो ।
    कार्यक्रममा समितिका अध्यक्ष अर्जुुनप्रसाद दाहालले गोष्ठीको अवधारणापत्र प्रस्तुत गरेका थिए । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमूख अतिथि एवं उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुणप्रसाद नेपालले नेपालीहरुसँग थुप्रै श्रोतहरु हुँदाहुदै पनि पहिचान गर्न नसकेर मुलुक गरिबीको सूचिमा रहनु दुर्भाग्य भएको धारणा ब्यक्त गरे । कार्यक्रममा प्रदेश सरकार सञ्चालन गर्ने ऐन तथा नीतिका साथै कार्यक्रम बनाउने दौडान चलेकाले सामुुदायिक वन उपभोक्ता समूहहरुले पनि प्रदेश सरकारलाई सहयोग पुग्ने गरी दस्तावेजहरु उपलब्ध गराउन मन्त्री नेपालले आग्रह गरे । नेपालीहरुले पर्यटन र वनलगायतका श्रोतहरुबाट प्रसस्तै आम्दानी लिन सकिने भएकाले यस विषयमा सामुदायिक वनमा आधारित संघ संस्थाहरुलाई ध्यानाकषर्ण समेत मन्त्री नेपालले गराए ।
    सो गोष्ठीमा आफ्नो मन्तव्य ब्यक्त गर्दै सामुदायिक वन उपभोक्ता महासंघ नेपालकी महासचिव भारती पाठकले वन सम्बन्धी नीति नियम बनाउन वन समितिहरुमा रहेर अनुभव हासिल गरेका सम्पूर्ण वन संरक्षण कर्मीहरुले आफ्नो अनुभव तथा अभ्यासमा आधारित सुझाव प्रदेश सरकार र स्थानीय सरकारलाई दिनु पर्नेमा जोड दिइन् । उनले मकवानपुर जिल्लाका सामुदायिक वन उपभोक्ता समूहहरुले देखाउदै आएको वन संरक्षणको खुलेर प्रशंसा समेत गरिन् । त्यसैगरी सो समारोहका अर्का अतिथि जिल्ला वन कार्यालयका प्रमूख प्रल्हादप्रसाद धितालले जिल्लामा उपभोक्ता वनसमूहले ल्याउने जुनसुकै राम्रो कामलाई प्रोत्साहन गर्ने प्रतिबद्धता जाहेर गरे ।
    त्यस्तै कार्यक्रमका अतिथि हेटौंडा उपमहानगरपालिका १८ नम्बर वडाका वडा अध्यक्ष अनिल बानियाले स्थानीय तहसँग सामुदायिक वनकर्मीहरुसँग हातेमालो गरेर वन संरक्षण कार्यक्रमलाई तिब्रता दिने बताए । कार्यक्रम चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहका कार्यालय सचिव केदार गौतमले सञ्चालन गरेका थिए ।       

 

पत्रपत्रिकाबाट

बिशेष विज्ञापन

Like Us On Facebook