खजुरा सन्तुटीमा कृषि क्याम्पस सञ्चालन हुने

— दिनेस ठाकुर 2018-11-18 17:52:03 शैक्षिक

    नेपालगञ्ज, २  मंसिर ।  बाँकेको खजुरा सन्तकुटीमा आगामी माघदेखि कृषि क्याम्पस सञ्चालन हुने भएको छ । खजुरा गाउँपालिका ३ मा रहेको जनता नमूना माविको ९ बिघा जग्गा भूमि सुधार तथा मालपोत कार्यालय बाँकेबाट सोमबार प्राकृतिक श्रोत तथा व्यवस्थापन कलेज बाँकेको नाममा दर्ता भएपछि सन्तकुटीमा यसै शैक्षिकसत्रदेखि बिएससी एग्रिकल्चर विषयको पढाई सञ्चालन हुने भएको हो ।
    कृषि क्याम्पस सहयोग तथा सञ्चालन समितिका अध्यक्ष समेत रहनुभएका प्रदेशसभा सदस्य आईपी खरेलले यहि पुष महिनामा आवेदन खुला हुने र माघदेखि नियमित पढाई सञ्चालन हुने जानकारी दिए । सन्तकुटी कृषि तथा बन विज्ञान विश्व विद्यालय रामपुरको आङ्गिक क्याम्पस हो ।
    तत्काल पढाई संचालनका लागि कार्यालय र कक्षाकोठाहरु जनता नमूना माविको प्रयोग गरिने भएको छ । स्थानीयले पहिलो बर्षमा ५२ जना विद्यार्थीका लागि नजिकै बस्ने ब्यवस्थापन गर्ने जनाएका छन् । सन्तकुटी खजुरा बजारबाट करिब तीन किलोमिटर दक्षिणमा अवस्थित छ । हाल बिश्व विद्यालयको टोली सन्तकुटीमा छ । टोलीले तत्काल पढाई सञ्चालनका लागि तयार रहेको जनाएपछि स्थानीय पनि उत्साहित भएका छन् ।
    क्याम्पसमा बिएससी कृषिको पढाइ तत्काल सुरु हुने र क्रमशः वन विज्ञानको समेत अध्यापन गराउने खरेलले जानकारी दिए । क्षेत्रीय कृषि अनुसन्धान केन्द्र र  कृषि तालिम केन्द्र तथा कपास विकास समितिको केन्द्रीय कार्यालय रहेको खजुरामा लामो समयदेखि कृषि क्याम्पस स्थापनाको पहल भईरहेको छ ।

पत्रपत्रिकाबाट

बिशेष विज्ञापन

Like Us On Facebook