उखु मिल संचालनमा नआउँदा उखु किसानहरु अन्यौलमा

तातोखबर 2018-12-23 14:50:06 आर्थिक

नवलपरासी पश्चिम, ८ पुस । उखु क्रसिङ गर्ने उत्तम समय भनेकै मंसिर दोश्रो साता हो । यो समय बितेको झण्डै महिना दिन लाग्यो ।

तर, पनि उखु मिल संचालनमा नआउँदा उखु किसानहरु अन्यौलमा परेका छन् । साहु महाजन कहाँबाट चर्काे व्याजदरमा ऋण लिएर गरेको उखु खेती अहिलसम्म खेतमै सुकिरहदाँ किसानहरुलाई ऋणको ब्जाज र घर व्यवहार समेत मिलाउन समस्या भएको गुनासो गरेका छन् ।

एकातर्फ सरकारले अहिलेसम्म उखुको उचित मुल्य निर्धारण नगर्नु अर्काे तर्फ चिनी मिलका संचालकहरु आलटाल गर्दै अहिलेसम्म मिल संचालन नगर्नुले मिल चल्ला कि नचल्ला भनि किसानहरु अन्यौलमा परेका छन् ।

मिल समयमै संचालनमा नआउँदा किसानहरु गहुँ, मसुरो, केराउ र तोरी खेती सिजन सकेर सो खेतीबाट बन्चित त भए नै यता खेतमै उखु सुकेर किसानहरुलाई थप घाटा भैरहेको सुस्ता गाउँपालिका ३ नर्सहीका उखु किसान लख्खु यादवले दुखेसो पोखे ।

स–साना किसानहरु घर व्यवहार मिलाउन बाध्य भई स–साना उखु क्रसर तथा बिचौलियाहरुलाई ३५० देखि ४०० रुपिया प्रति क्वीन्टल सस्तोमा उखु विक्री गरिरहेका छन् ।

जिल्लामा ईन्दिरा सुगर मिल, बागमति खाडसारी चिनी मिल र लुम्बिनी चिनी मिल गरि ३ वटा ठुला चिनी उद्योग र ५० भन्दा बढि स–साना उखु क्रसरहरु संचालनमा छन् ।

यी ठूला मिलहरु किसानहरुको बक्यौता रकम ५ करोड रुपैया अझै भुक्तानी दिएका छैनन अर्काे तर्फ समयमै मिल नचलाएर किसानहरुलाई सस्तो उखु खसाल्न बाध्य बनाई रहेको प्रतापपुर गाउँपालिका ८ पिपरपातीका किसान युवराज मौर्यले गुनासो गरे ।

विगतमा मंसिरमै उखु मिलहरु संचालनमा आई उखु क्रसिङ्ग गर्ने गर्दथे तर अहिलेसम्म उखु मिल संचालनमा नल्याउँदा किसानहरु अन्यौलमा परि ठुलो मर्कामा परेका छन् ।

सरकारले समयमै उखुको उचित मुल्य निर्धारण गर्न र उखु मिलहरुलाई तत्काल संचालनमा ल्याउन पहल गरिदिन उखु उत्पादक कृषक समिति नवलपरासीका अध्यक्ष उमेशचन्द्र यादवले सरकार संग आग्रह गरेका छन् ।

समितिका अध्यक्ष यादवले जानकारी दिए अनुसार सरकारले किसानहरुलाई दिएको अनुदान रकम प्रति क्वीन्टल ६५.२८ रुपैया झन्झटिलो प्रक्रियाका कारण किसानहरुले सो अनुदानको रकम पाउन सकेका छैन ।

यस गण्डक कमाण्ड क्षेत्रका अधिकांश किसानहरु उखु खेती हुण्डा, उखडा, आठ नं. प्रति र बगर नदीको छेउछाउमा गरेकाले सो पुजा नहुँदा अनुदान रकम पाउनबाट बन्चित नै भैरहेको अध्यक्ष यादवले दुख सुनाए ।

उनले, सरकारले अनुदानको रकम पाउन सहज प्रक्रिया बनाएर किसानहरुलाई सहजै सो रकम उपलब्ध गराउन आग्रह गरे ।

यता उखु मिलका संचालकहरुले मिल संचालन नगरि किसानहरुलाई सस्तोमा उखु खसाल्न बाध्य बनाईरहेको किसानहरुले गुनासो गरेका छन् ।

मिल संचालकहरुले मिलको मर्मत कार्य भैरहेकाले मिल संचालनमा ढिलाई भएको सफाई दिदै किसानहरुलाई सस्तोमा उखु खसाल्न बाध्य बनाइरहेको पाइएको छ ।

त्यसैमा मौकाको फाइदा उठाउँदै बिचौलियाहरु ठाउँ–ठाउँमा उखु खरिद सेन्टर राखी सस्तोमा उखु खरिद गर्ने चलखेलमा लागेका छन् । madheshvani

पत्रपत्रिकाबाट

बिशेष विज्ञापन

Like Us On Facebook