नेपाल लाईफ इन्स्योरेन्स लहान शाखाबाटै साह दम्पतिको रकम गायब

मुकेश कुमार यादव 2019-05-02 18:13:45 कृषि र सहकारी

    सिरहा, १९ वैशाख । सिरहाको लहान नगरपालिका बस्ने दिनेश साह र उनकी श्रीमति सुनैनादेवी साहको नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लहान शाखाबाट रकम गायब भएको छ । लहान नगरपालिका वडा नं. १ का दिनेश साह र उनकी श्रीमती सैनुनादेवी साह नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको जीवन सहारा र जीवन ज्योति बीमा लगायत विभिन्न पोलीसीमा दस वर्षदेखि ५३ लाख रुपैयाँको बीमा गराएका थिए ।
    त्यो बीमा पैसाले छोराछोरीलाई राम्रो शिक्षा दिलाउन र विहेवारी पनि राम्रैसँग तामझामकासाथ गर्ने सपना मनमा सजाएका थिए । तर ती सारा सपना यतिबेला चकनाचुर भएको छ । बीमा कम्पनीबाट ठगिएका छन् । परिवारको सपनामाथि तुसारापात भएका छन् । सिंगै परिवार चिन्तामा परेका छन् । दिनेश साहको नाममा करिब ३१ लाख ९७ हजार २९७ र सैनुनादेवी साहको नाममा करिब २१ लाख ६८ हजार ८४० गरी जम्मा ५३ लाख ६६ हजार १३७ रुपैयाँ इन्स्योरेन्समा जम्मा गरेका थिए । तर दुबै जनाको नाममा जम्मा रहेको बीमा रकमबाट पाँच वर्षदेखि विभिन्न गते मितिमा पटक– पटक गरी २१ लाख ३० हजार ऋण निकालि सकेको छ ।
    जसको ब्याज १० लाख ८१ हजार ३२५ भइसकेको छ । ऋण र ब्याज गरी उनको नाममा ३२ लाख ११ हजार ३ सय २५ रुपैयाँ भइसकेको छ । पीडित दिनेश साहका अनुसार उनले एक पैसा ऋण लिएको छैनन् । घरमा थोरै समस्या पर्यो फाइल बोकेर ऋण लिन अफिस पुग्दा ऋण निकालेको थाहा पाएपछि आश्यर्चचकित परे । उनी आकाशबाट झरेझैं भए । ‘बीमा अफिसमा निवेदन हालेको ३÷४ हप्ता भइसक्यो तर अहिलेसम्म कुनै सुनवाइ भएको छैन्’ भन्दै उनले अगाडि भने ‘अफिसले ऋण कसले निकालेको विषयमा छानविन गर्छु भनेपनि केहि गरेको छैन ।’
    एनएलआईसी ठगी गर्ने बीमा कम्पनी भएको भन्दै उनले कसैलाई त्यसमा बीमा नगर्न आग्रह समेत गरे । पाँच वर्षदेखि पटक–पटक आफ्नो नाममा ऋण निकाल्दा पनि कम्पनीले थाहा नपाउनुले कर्मचारीहरुमाथि नै उनले शंका गरेका छन् । अरु बेला मोबाइलमा म्यासेज र खबर आउँथ्यो तर ऋण निकाल्दा किन एसएमएस आएन ? उनको प्रश्न छ । यसरी ठगीमा परेपछि उनको परिवारको सपनामाथि तुसारापात भएको छ ।
    विभिन्न व्यक्तिले मलाई नेपाल लाइफ धेरै ठूलो कम्पनी हो तर तिमि सानो मानिस तिमिलाई बिमा कम्पनीले पैसा नदिएपनि तिमि केही गर्न सक्दैनौ पीडित साहले बताए । यस विषयमा प्रतिकृया लिन खोज्दा प्रतिक्रिया दिन मानेनन् र भने माथिल्लो निकायबाट प्रेसर आउछ र मेरो नोकरीमा पनि असर पर्छ भन्दै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लहान शाखाका ब्रान्च म्यानेजर भोगेन्द्र साहले भन्दै पञ्छिए ।

 

पत्रपत्रिकाबाट

बिशेष विज्ञापन

Like Us On Facebook