सुदुर पश्चिममा प्रधानमन्त्रीको कार्यक्रम विथोल्ने प्रयास

तातोखबर 2018-03-04 10:56:02 Select a News Category :

धनगढी, मंसिर २३ / सुदुर पश्चिम महोत्सव उद्घाटन गर्न गएका प्रधानमन्त्री पुष्पकमल दाहालको कार्यक्रमलाई संविधान संशोधन फिर्ताको माग राखेर प्रदर्शनमा उत्रिएको समूहले विथोल्ने प्रयास गरेको छ । प्रधानमन्त्री दाहालको निर्धारित कार्यक्रमलाई लक्ष्य गरी विरोधमा उत्रेका नेकपा (एमाले) र जनमोर्चाका विद्यार्थीहरुले शान्तिपूर्ण विरोधप्रदर्शन गरेको भएपनि प्रहरीले धरपकड गरेर नियन्त्रणमा लिएको थियो ।

प्रदर्शनकारीहरुमध्ये ३९ जनालाई नियन्त्रणमा लिएर साँझ रिहा गरेको जिल्ला प्रहरीले कैलालीले जनाएको छ । गिरफ्तार भएकाहरुमध्ये रिहा हुन बाँकी सदस्यहरुलाई तुरुन्त रिहा गर्न र प्रहरी धरपकडमा परी घाईते भएका आफ्ना सदस्यहरुलाई उपचार गर्न एमाले पार्टी सचिव योगेस भट्टराईले एक प्रेस विज्ञप्ती जारी गरी माग गरेका छन् ।

 

यता महोत्सव उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रलाई एकताबद्ध बनाएर चुनावमा जाने ध्येयले व्यवस्थापिका–संसद्मा संविधान संशोधन प्रस्ताव दर्ता गरिएको बताएका छन् । दाहालले कसैलाई विभेद र बहिष्करणमा पार्ने तथा अपमानित गर्ने मनसायले संशोधन प्रस्ताव दर्ता नगरिएको स्पष्ट पार्दै भनेका छन् ‘हिजो नेपाली काँग्रेस र नेकपा (एमाले)को सरकार रहेका बेला सीमाङ्कनका सवालमा पाँच नं प्रदेशको पहाड र तराईका सवालमा गरिएको प्रस्तावलाई आधार बनाएर अहिले संशोधनको प्रस्ताव गरिएको हो ।

 

केपी ओलीले गर्दा त्यही प्रदेश राम्रो हुने, प्रचण्डले त्यसरी नै प्रदेश बनाउन खोज्दा राष्ट्रवाद नहुने भन्ने हुँदैन ।” उनले संसद्मा दर्ता भएको संशोधन प्रस्ताव कुनै हालतमा फिर्ता नहुने भन्दै संशोधनको विरोधमा उत्रेकालाई छलफल र संवादमा आउन आग्रह गरेका छन् । संशोधन प्रस्ताव कुनै नयाँ आविष्कार गरेर दर्ता नगरेको र हिजो सबैले प्रस्ताव एवम् सहमति गरेको विषयकै वरिपरि रहेर नै यो प्रस्ताव दर्ता गरिएको प्रधानमन्त्री दाहालले स्पष्ट पारेका छन् ।

 

समारोहमा महोत्सव आयोजक कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष शङ्कर बोगटीले प्रधानमन्त्रीलाई सुदूरपश्चिमको विकासलाई सम्बोधन गर्ने १६ सूत्रीय मागसहित ज्ञापनपत्र पेस गर्दै १६ किलोको माला लगाइदिएका थिए । अध्यक्ष बोगटीको अध्यक्षतामा भएको समारोहमा नेकपा (माओवादी केन्द्र)का नेता लेखराज भट्टले सुदूरपश्चिमको विकासमा देखिएका समस्याबारे आफ्नो भनाइ राखेका थिए ।

पत्रपत्रिकाबाट

बिशेष विज्ञापन

Like Us On Facebook