हेटौंडा सिमेन्ट उद्योगलाई अत्याधुनिक संयन्त्रसँग जोड्ने आधार खोज्नेछु
— निमित्त महाप्रबन्धक इञ्जिनियर नबिनकुमार कर्ण : हेटौंडा सिमेन्ट उद्योग लिमिटेड
नेपालकै पुरानो सिमेन्ट उद्योग हेटौंडा सिमेन्ट उद्योग लिमिटेडमा केही समयदेखि रिक्त रहेको महाप्रबन्धक पद पूर्ति गर्न सरकार लागिपरेको छ । निवर्तमान महाप्रबन्धक प्रेमशंकर सिंहको कार्यकाल पुस मसान्त समाप्त भएपछि खाली रहेको उक्त पद पूर्तिका लागि सूचना सार्वजनिक गरिसकिएको पनि छ । यससँगै नेपाल सरकार उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योगका नायब महाप्रबन्धक इन्जिनियर नबीनकुमार कर्णलाई निमित्त महाप्रबन्धकको जिम्मेवारी सुम्एिको छ । २०५५ सालदेखि निरन्तर यस उद्योगमा सेवा गर्दै आएका इञ्जिनियर कर्ण यस उद्योगका एक इमान्दार र अनुभवी अधिकारीका रुपमा चिनिन्छन् । प्रस्तुत छ, हेटौंडा सिमेन्ट उद्योग लिमिटेडको निमित्त महाप्रबन्धक पद ग्रहण गरेका इञ्जिनियर नविनकुमार कर्णसँग तातोखबर डटकमका लागि कार्यकारी सम्पादक लक्ष्मण बजगाईले गरेको कुराकानीको सम्पादित अंश ः
यहाँले भर्खरै हेटौंडा सिमेन्ट उद्योग लि. को निमित्त महाप्रबन्धकको कार्यभार सम्हाल्नु भएको छ, जे जति समयसम्म यहाँले जिम्मेवारी वहन गर्ने अवसर पाउनुहुनेछ, यहाँले हेटौंडा सिमेन्ट उद्योग लिमिटेडलाई अगाडि बढाउन के कस्तो नीति लिनुहुनेछ ?
आजै मात्र मैले यो कार्यभार सम्हालेको छु । भौतिक उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय र मन्त्रालयका सचिवज्यूले मलाई यस हेटौंडा सिमेन्ट उद्योग लिमिटेडको महाप्रबन्धक पदमा निमित्त महाप्रबन्धकको जिम्मेवारी दिनुभएको छ, यसका लागि म उहाँहरुप्रति हार्दिक आभार ब्यक्त गर्दछु । साथै मलाई यो अवसर दिनु भएकोमा उहाँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु । हेटौंडा सिमेन्ट उद्योगको महाप्रबन्धकका लागि दरखास्त आह्वान पनि भईसकेको छ । यो पद रिक्त भएकोले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले महाप्रवन्धक नियुक्तिका लागि गठन गरेको सिफारिस समितिद्वारा सूचना सार्वजनिक गरेर दरखास्त आह्वान गरेको अवस्थामा महाप्रबन्धक नियुक्त नहुञ्जेलका लागि मलाई यो जिम्मेवारी दिईएको छ । महाप्रबन्धकको रिक्तताको कारणले अड्किएका काम कारवाहीलाई अगाडि बढाउने मेरो प्रतिबद्धता छ । खास गरी जुन काम गर्न मलाई जति समयका लागि नियुक्त गरिएको छ त्यति अवधिमा पनि मेरो पदीय जिम्मेवारीका कामहरु इमान्दारिताका साथ उद्योगको समग्र विकास र हित हुने गरी काम गर्नेछु ।
यो धेरै पुरानो र जीर्ण अवस्थाको उद्योग छ, यसलाई जीवन दिन सकिने सम्भावना कस्तो देख्नु भएको छ ?
एउटा सिमेन्ट उद्योगका लागि सबै प्रकारका भौतिक पूर्वाधारसम्पन्न उद्योग हो यो हेटौंडा सिमेन्ट उद्योग लिमिटेड । यसलाई जीवन दिन सकिने धेरै ठूलो सम्भावना छ । यसमा मैले आफ्नो जिम्मेवारीलाई रचनात्मक ढंगले वहन गर्ने नै छु । एउटा प्राविधिक र प्रशासनिक तथा अर्थ व्यवस्थापनमा मैले अहिलेसम्म हासिल गरेको अनुभवलाई यो उद्योगमा लगाउने छु जुन यो पदमा नियुक्त भएर कार्यभार सम्हाल्न आउने नव महाप्रबन्धकलाई एउटा आधार पनि बन्न सकोस् ।
‘‘हेटौंडा सिमेन्ट उद्योग धरासायी बन्दै गएको र सरकारी स्वामीत्वमा सञ्चालित उद्योग कलकाराखानाहरु धमाधम बन्द हुदै गएको जस्तै यो उद्योग पनि बन्द हुन्छ’’ भन्ने किसिमको हल्लाहरु सुन्नमा आएका छन्, गुणस्तरको दृष्टिकोणले यो उद्योगबाट उत्पादित सिमेन्टको लोकप्रियतालाई हेर्दा उद्योग बन्द हुन हुदैन । यो विषयमा यहाँको भनाई के छ ?
गुणस्तरको कुरा गर्दा उपभोक्ता र विक्रेताहरुले यो उद्योगबाट उत्पादित सिमेन्टमाथी निकै ठूलो भरोषा गरिरहनु भएको छ । उहाँहरुको भरोषालाई हामी सम्मान र प्रशंसा गर्छौं । यो सिमेन्ट उद्योग धेरै पुरानो हो र यहाँबाट उत्पादन हुने सिमेन्टको गुणस्तरीयतामा कमी आउन दिदैनौं । अर्को कुरा, यो उद्योग धरासायी बन्दै गएको भन्ने भ्रम कसैलाई नहोस् भन्न चाहन्छु । एउटा कुरा के हो भने उद्योगका यन्त्रहरु केही पुराना भएका छन् । यसबाट केही समस्याहरु उत्पन्न हुने गरेको छ अर्थात नयाँ जस्तो चालु गर्न सकिएको छैन । अब त्यो समस्यालाई समाधान गर्दै हामी अगाडि बढ्छौं । उद्योगका उपकरण तथा यन्त्रहरु पुराना भएका कारण धेरै म्यानुअल अपरेशन गर्नु पर्ने बाध्यता छ । उद्योग सूचारु रहेको छ भन्ने कुरा हामी प्रष्ट पार्न चाहन्छौं । उद्योगमा कार्यरत सम्पूर्ण कर्मचारी, प्राविधिक तथा ब्यावस्थापनका साथै बजारीकरणका कामहरु सन्तुलित ढंगबाट अगाडि बढिरहेको छ ।
उद्योगमा भर्खरै निमित्त महाप्रबन्धकको भूमिकामा आउनु भएको छ, यो उद्योगमा कर्मचारी व्यवस्थापन कसरी मिलाउँदै हुनुहुन्छ ?
उद्योगका कतिपय पुराना कर्मचारीहरु सेवा अवधि पुराभएर अवकाशप्राप्त भईसक्नु भएको छ । समग्रमा पहिलाभन्दा अहिले कर्मचारीको संख्या धेरै कम भईसकेको छ । पछिल्लो समयमा सञ्चालनमा आएका अन्य सिमेन्ट उद्योगहरु अत्याधुनिक यन्त्र तथा उपकरणजडित उद्योगहरु भएकाले ती उद्योगहरुमा कर्मचारी अति कम भए पुग्छ । तर यो हेटौंडा सिमेन्ट उद्योगमा ती नयाँ मेशिनहरु जडान गर्न सकिएको छैन । यहाँको मेशिनहरु कर्मचारीले सञ्चालन गर्नु पर्ने हुन्छ । त्यसैले कर्मचारीहरुको संख्या कम हुदा हामीलाई उद्योग सञ्चालनमा अप्ठ्यारो परिरहेको छ । बीचमा ५ वर्षयता उद्योगको दरवन्दीअनुसार पदपूर्ति हुन सकिरहेको छैन । अब छिट्टै पदपूर्तिको समस्या पनि समाधान हुनेमा म विश्वस्त छु । तर पनि हामी जे जति कर्मचारी छौं सबै जनाले आ–आफ्नो जिम्मेवारीको काम इमान्दारिताका साथ पूरा गर्दै आएका छौं । त्यहि भएर पनि उद्योग सञ्चालनरत रहेको छ र यो उद्योगलाई सहजतापूर्वक सञ्चालनमा ल्याउने हाम्रो तयारी भईरहेको छ ।
हेटौंडा सिमेन्ट उद्योग सञ्चालन र सिमेन्ट उत्पादनका लागि चाहिने कच्चा पदार्थ आपूर्ति कसरी हुदै आईरहेको छ ?
सिमेन्ट उत्पादनका मूख्य कच्चा पदार्थ भनेको चुन ढुङ्गा नै हो । त्यस्तो चुन ढुङ्गा हाम्रो यो उद्योगको स्वामीत्वमा रहेका खानीहरुबाट उत्खनन् गरी मालबहाक सवारी साधनहरुमार्फत ढुवानी गरेर आपूर्ति गरिदै आएको छ । हाम्रो यो उद्योगको ४ वटा चुन ढुङ्गा खानीहरु रहेका छन् । मजुवा ढुङ्गा खानी, ओखरे ढुङ्गा खानी, भैंसेखानी र जोगीमारा ढुङ्गा खानीहरु यो हेटौंडा सिमेन्टा उद्योग लि. का खानीहरु हुन् । भैंसेखानीको ढुङ्गा कम उत्पादन र लागत बढी हुने भएकाले अहिले हामीले त्यहाँको ढुंगालाई कम प्राथमिकता दिएका छौं । अर्को जोगीमारा खानी पनि ढुवानीको हिसावले अली बढी खर्चालु भएकोले हामीले ओखरे खानीबाट बढी ढुंगा आपूर्ति गरिरहेका छौं । २ वर्षयता हामीले मजुवा खानीलाई राम्रोसँग सञ्चालन गर्न सकिरहेका छैनौं । त्यस क्षेत्रका स्थानीय बासिन्दाहरुको अवरोधका कारण हामी यो समस्यामा रहेका छौं । यो खानी पनि छिट्टै सञ्चालनमा ल्याउने पहल भईरहेको छ । त्यसैगरी आईरन वर्क (जीपसन) अर्को मुलुकबाट आयात गर्ने गरिएको छ । त्यस्तै कोईला पनि चाहिएजति मात्रामा नेपालमा उपलब्ध नहुने भएकाले अर्को देशबाट आयात गर्नु पर्दछ ।
उत्पादन क्षमताको हिसाबले पछिल्लो समयमा सिमेन्ट उद्योगहरु कडा प्रतिष्पर्धामा देखिएका छन् । ती उद्योगहरु अत्याधुनिक मेशिनहरुजडित उद्योगका रुपमा छन् र ती उद्योगहरुको बजारीकरण पनि प्रतिष्पर्धामा देखिन्छन् । यस्तो अवस्थामा हेटौंडा सिमेन्ट उद्योगलाई पनि अपग्रेड गरेर अगाडि बढाउन सकिने सम्भावना कस्तो देख्नु हुन्छ ?
म भर्खरै निमित्त महाप्रबन्धक पदमा नियुक्त भएको छु । यो पदमा रहुञ्जेल यो पदमा नयाँ नियुक्त हुने महाप्रबन्धकज्यूलाई काम गर्न सजिलो हुने गरी म आफ्नो काम अगाडि बढाउने छु । यो उद्योगलाई अत्याधुनिक संरचनामा सञ्चालनमा ल्याउन आवश्यक पर्ने डकुमेन्ट तयार गर्ने र पेश गर्नु पर्ने निकायसम्म पुग्न मैले पहिलो प्राथमिकता ठानेको छु । हामीसँग भएको श्रोत र साधनलाई उचित ढंगले प्रयोग गर्न सकिने सबै आधारहरुमा केन्द्रित रहेर मैले आफ्नो कार्यरुप तयार गरिरहेको छु । यो उद्योगको प्लान्टको क्षमता पनि अभिबृद्धि गर्नु पर्ने मैले देखेको छु । अत्याधुनिक मेशिनहरु आयात गरेर जडान गर्ने विषयमा पनि अध्ययन भईसकेको छ । सम्पन्न भएको अध्ययनअनुसार नै हामीले यो उद्योगलाई विकास गर्न आवश्यक पर्ने लगानी व्यवस्थापनका लागि सरोकारवाला र सम्बन्धित सरकारी निकायसँगको छलफलका लागि हामीले तयारी गरिरहेका पनि छौं । देशको वस्तुगत अवस्था र चालु अन्य सिमेन्ट उद्योगहरुको वस्तुगत अवस्था र सिमेन्टको स्थापित बजारको वस्तुस्थितिलाई हेरेर छिट्टे यो कामलाई अगाडि बढाउन म आवश्यक कदम चाल्नेछु ।
कोविड १९ को विश्वब्यापी महामारीको यो हेटौंडा सिमेन्ट उद्योगको उत्पादन र व्यवस्थापनमा के मा कस्तो असर देखियो, यो विषयमा प्रष्ट पारिदिनुहोस् न ?
कोबिडका कारण केहि न केहि असर त हेटौंडा सिमेन्ट उद्योगमा पनि देखियो । तर पनि हामीले यसलाई सन्तुलित रुपमा व्यवस्थापन गर्न सक्यौं र कोबिडकै कारण हामीले उद्योग र उत्पादनको बजारलाई ठप्प पार्न परेन । कोबिड महामारी चलिरहेको बेला कतिपय उद्योगधन्दाहरु बन्द रहदा पनि हामीले कोबिडका लागि तोकिएको स्वास्थ्य मापदण्ड अपनाएर कर्मचारी परिचालन गरेर उद्योगको प्लान्ट सञ्चालन गरिरह्यौं । त्यसैगरी उत्पादनहरुको बजार व्यवस्थापन गर्ने काम गरेका छौं । अझै पनि कोबिड अन्त्य भईसकेको अवस्था छैन । यस्तो बेलामा हामीलाई काम गर्न, उद्योग चलाउन सजिलो त छैन । तर पनि हामीले त्यसलाई सहजै पार गर्दै आईरहेका छौं ।
हेटौंडा सिमेन्ट उद्योगबाट उत्पादित सिमेन्टहरु गुणस्तरको हिसाबले निकै नै लोकप्रिय मानिन्छ, हेटौंडामा सिमेन्ट उत्पादनका लागि अन्य उद्योगहरु पनि सञ्चालनमा आए, ती उत्पादनहरुको बजारलाई हेर्दा कतिपय विक्रेताहरुले हेटौंडाको सिमेन्ट भनेर विक्री बितरण गर्ने गरेको भन्ने चर्चा हुने गरेको छ, उपभोक्ताहरुलाई झुक्याएर विक्री वितरण भए नभएको विषयमा यहाँहरुले अनुगमन तथा निगरानी पनि गरिरहनु भएको छ की ?
हेटौंडाकै सिमेन्ट भन्ने गरी यस क्षेत्रमा अन्य २ वटा उद्योगहरु सञ्चालनमा आएका छन् । ती उद्योगहरुले आ आफ्नै उत्पादनको ब्राण्ड उपभोक्ताहरु माझ लिएर आएका छन् । तर हेटौंडा सिमेन्ट उद्योग लिमिटेडले उत्पादन गर्ने सिमेन्टको नामसँग झुक्किनु पर्ने कुनै कारण छैन भन्ने मलाई लाग्छ । हाम्रो उद्योगले उत्पादन गर्ने सिमेन्टको नाम हो ‘शक्ति सिमेन्ट’ हो । हेटौंडा सिमेन्ट उद्योग लिं. का दुई वटा ब्राण्डहरु दुवै शक्ति सिमेन्ट हुन् । यसको आफ्नै छाप छ, आफ्नै प्रभाव छ । हाम्रा उपभोक्ताहरुले राम्रोसँग बुझ्नु भएको छ की हेटौडा सिमेन्ट उद्योग गुणस्तरसँग कहिलै कम्प्रोमाईज गर्दैन । तथापी बजारमा अन्य उत्पादनहरुको सफलताका लागि त्यस्तो अफवाह फैलाउने काम गरे नगरेको विषयमा हामीले नियमित अनुगमन गर्ने गर्ने काम निरन्तर रुपमा गर्दै आईरहेका छौं ।
अन्त्यमा हामीले नसोधेको तर यहाँलाई भनुँ भन्ने लागेको कुरा केहि छ ?
हेटौंडा सिमेन्ट उद्योग लिमिटेडले नेपालको निर्माण क्षेत्रमा ठूलो योगदान पुर्याउदै आईरहेको सर्वविधितै छ । हाम्रा उत्पादनहरुको लोकप्रियता सदावहार रहेको कुरा कसैसँग लुकेको छैन । हाम्रा उत्पादनहरु ‘हेटौंडा शक्ति छाप’ हो भन्ने विषयमा कसैले झुक्याउन सक्दैन । किनभने आमउपभोक्ताहरु बीचमा राम्रो परिचित सिमेन्ट भएकोले यदि कुनै विक्रेता तथा वितरकहरुले झुक्याएर विक्री गरेको थाहा पाउनु भयो भने हामीलाई खबर गरी त्यस्तो जानकारी गराउनु भएको खण्डमा कानूनबमोजिम कारवाही गराउन हामी आवश्यक कदम चाल्ने छौं । किनभने हेटौंडा सिमेन्ट उद्योग सरकारी स्वामीत्वको सिमेन्ट उद्योग हो । यहाँहरुले हामीलाई आफ्नो कुरा राख्ने मौका दिनुभएकोमा तातोखबर डटकमलाई धन्यवाद दिन चाहन्छु ।