वाग्मती उत्पत्ति र नदीको पौराणिकता
काठमाडौँ, २ साउन
शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको मृगेन्द्र शिखरबाट राजधानीको सभ्यताको स्रोत वाग्मती प्रकट हुन्छ । यो स्थल अहिले गोकर्णेश्वर नगरपालिकाको भौगोलिक सीमामा पर्दछ । नृसिंहले हिरण्यकशिपुलाई मारेपछि यसै पर्वतमा आएर मृगको इन्द्रसमान (सिंह) रुपको शिर धारण गरी विचरण गरेकाले मृगेन्द्र शिखर नामकरण भएको विभिन्न पुराणमा उल्लेख गरिएको छ ।
वाग्मती उत्पत्ति भएकाले यो स्थानलाई वाग्द्वार भनिन्छ । यहाँ भक्त प्रल्हादले एक हजार वर्षसम्म भगवान् शिवजीको तपस्या गरे । तपस्याबाट शिव अति प्रसन्न भई हाँसो प्रकट भयो । भगवान् शिवको अट्टहासले मुखबाट थुकका छिटा निस्कँदा वाग्मती प्रकट भएको किम्बदन्ती विभिन्न पुराणमा उल्लेख गरिएको छ । शिवको मुखबाट उत्पत्ति भएकाले वाग्मतीलाई शिवगङ्गा र ब्रह्मसरस्वती पनि भनिन्छ ।
शिवपुरीको उत्तर मुखबाट वाग्मती र दक्षिण मुखबाट विष्णुमती प्रकट भइन् । यही शिखरको पूर्व दक्षिणतिरबाट रुद्रमती (धोबीखोला) को उत्पत्ति भएको छ । मणिचुड पर्वत (वज्रयोगिनीको डाँडो) बाट मणिमति (मनोहरा) उत्पन्न भएको छ । साथै उपत्यकाको विभिन्न स्थानबाट इक्षुमती (टुकुचा), हनुमती (हनुमन्ते), भद्रमती (भातेखुसी) र प्रभावती ९नख्खुखोला० वाग्मतीमा मिसिन्छन् । वाग्मतीमा मिसिने यी सात नदीको समूहलाई सप्तमती पनि भन्ने गरिएको ‘वाग्मती काठमाडौँ सभ्यताको मुहान’ पुस्तकमा लेखक एवं पूर्व सचिव विष्णुगोपाल रिसालले उल्लेख गर्नुभएको छ ।
यसबाहेकका कोट्कुखोला, महादेवखोला, बल्खु खोला, गोदावरी खोला, चन्द्रमती, सूर्यमती, स्यालमती, नागमती लगायत धेरै साना तिना खोला पनि सिधै वा सहायक नदी हुँदै वाग्मतीमा मिसिन्छन् । हिमालयको काखबाट निस्केकी वाग्मती भागीरथी (गङ्गा) भन्दा सयौँ गुणा पवित्र छिन् भनी वराहपुराणमा उल्लेख गरिएको छ । पशुपति पुराणमा भनिएको छ :
पशुपतिसमं लिङ्गं वाग्वत्या च समा नदी ।
गुह्येश्वरीसमं पीठं नास्ति ब्रह्माण्डमण्डले ।।
अर्थात् पशुपतिको समान लिङ्ग, वाग्मतीको समान नदी र गुह्येश्वरीको समान पीठ ब्रह्माण्डमा अरु छैनन् । स्कन्द पुराण नेपाल माहात्म्यको हिमवत्खण्डमा वाग्मतीको महत्व बढाउनको लागि मनोहराको सङ्गम (दोभान) मा रहेको रुद्रधारा तीर्थले ठूलो भुमिका खेलेको उल्लेख छ ।
शास्त्रीय मान्यताअनुसार विष्णुमतीको सङ्गम टेकुदोभान र नख्खुखोला (प्रभावती) सङ्गमको पनि ठूलो गुणगान छ । वाग्मती र नख्खुखोलाको सङ्गममा चैत्र शुक्ल अष्टमीका दिन आदिनाथलाई स्नान गराइन्छ ।
वाग्द्वार, सूर्यमती र चन्द्रमती खोला मिसिने गोकर्णेश्वर नगरपालिकाको जोरपाटीस्थित हत्यामोचनघाटमा वैशाख सङ्क्रान्ति र गङ्गा दशहरा पर्वका दिन मेला लाग्छ । त्यसबेलामा गुह्येश्वरी, पशुपति, शङ्खमूल, टेकुदोभान, नख्खुदोभान र कटुवालदह लगायत स्थानमासमेत स्नान मेला लाग्ने गर्दथ्यो । सूर्य ग्रहण र चन्द्र ग्रहणका समयमा नदी किनारमा स्नान गर्नेको भीड नै लाग्थ्यो । वाग्मती प्रदुषित भएपछि यो संस्कृति क्रमश : लोप हुने अवस्थामा पुगेको छ ।
नेपाल माहात्म्य अनुसार वाग्मती तीर्थयात्रा गर्ने चलन छ । यो तीर्थयात्राको क्रम कटुवालदहबाट सुरु हुन्छ । महिना दिन लगाएर वाग्मती किनारका तीर्थहरु सेतुबन्ध, वासुकी, दुर्गा, व्याघ्र, प्रभावती र वाग्मती दोभानको प्रमोद तीर्थ बल्खु दोभानमा इन्द्रतीर्थ, टेकु दोभानमा पञ्चनदी तीर्थ, टुकुचा दोभानमा कालमोचन तीर्थ, रुद्रमती दोभानमा सहोदर तीर्थ, मनोहरा दोभान शङ्खमूलमा रुद्रधारा तीर्थ हुँदै वाग्द्वारमा ब्रह्मसरस्वती तीर्थको नामले तीर्थ स्नान गर्ने परम्परा पनि लामो समय नदी प्रदूषित भएकै कारण हुन सकेन ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
मेयर बालेन एमालेविरुद्ध परिचालित भए : शंकर पोखरेल
-
२.
साञ्जेन जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रणालीमा जोडियो
-
३.
मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनसँगै निर्माण प्रारम्भ
-
४.
रूसको धम्की पछि युक्रेनी संसद्को बैठक स्थगित
-
५.
प्रधानमन्त्री ओली र एलन मस्कबीच भर्चुअल माध्यामबाट कुराकानी