असारको मध्य दिन आज धान दिवस
काठमाण्डौं, असार १५ । आज असार १५, मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असारको मध्य दिन आज धान दिवस मनाउने गरिन्छ । धान दिवसलाई रोपाइँ दिवस पनि भनिन्छ । असार १५ गते नेपालमा दही चिउरा खाने चलनसमेत चलि आएको छ । चिउरा धान कुटेर तयार पारिने खाद्यान्न हो । नेपालीको प्रमुख खाद्यन्न बाली धानको गरिमा र महत्व अर्थतन्त्रसँग जोडिएको छ । धानको उत्पादन बढ्दा कूल गार्हस्थ्य उत्पादन (जिडिपी) मा बढोत्तरी हुन्छ भने घट्दा जिडिपी घट्ने गरेको पाइन्छ ।
नेपालले २०६२ सालदेखि असार १५ लाई धान दिवसका रुपमा मनाउँदै आएको छ । धान दिवसको अवसरमा कास्कीमा विशेष रोपाईं महोत्सव गर्ने गरिएको छ । धान नेपालको प्रमुख खाद्यान्न बाली हो । कुल ग्राहस्थ उत्पादनको ७ प्रतिशत, कृषिमा २० प्रतिशत र कुल खाद्यान्न उत्पादनको ५५ प्रतिशत धानबालीले योगदान पु¥याएको छ । कृषि विभागका अनुसार नेपालमा करिब १४ लाख हेक्टर जमिनमा ४७ लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ । तराईमा करिब ७० प्रतिशत, पहाडी क्षेत्रमा २६ प्रतिशत र हिमाली क्षेत्रमा ४ प्रतिशत जमिनमा धानबाली लगाइन्छ ।
युवा जनशक्ति पलायन, सिमित व्यक्तिका हातमा धेरै जमिन, जग्गाको खण्डीकरण, खेतीयोग्य भूमि घडेरीमा परिणत गर्नु, आकासे खेतीमा निर्भर, सिँचाइको व्यवस्था नहुनु, उन्नत जातका बीउवीजन तथा मलखाद तथा अनुदानको राम्रो व्यवस्था नहुँदा धानको उत्पादनमा असर परेको विज्ञहरुले बताएका छन् अहिले नेपालको धान उत्पादकत्व ३.१७ मेट्रिक टन÷प्रति हेक्टर छ, यसलाई बढाएर ४ मेट्रिक टन÷प्रति हेक्टर बनाउन सकेमात्र पनि मुलुकभित्रको मागलाई पुरा गर्न सकिन्छ ।