नाकाबन्दीमा नेपाल टिकिरहनुको कारण कृषि: केपी शर्मा ओली
तातोखबर, १५ असार । राष्ट्रिय धान दिवस मनाउन पत्नी राधिका शाक्यसँगै चितवन पुगेका ओलीले पाँच महिनाको नाकाबन्दीमा पनि नेपाल टिकिरहनुको कारण कृषि नै भएको बताए।
‘हामीलाई पाँच महिना नाकाबन्दी लाग्यो। पाँच महिना नाकाबन्दी लाग्दा पनि नेपाल किन टिक्यो भने यो कृषि प्रधान देश हो। कृषि प्रधान देश भएको हुनाले नाकाबन्दी जस्तो चिजमा पनि। हामी प्राय बाहिरबाट सबै चिज ल्याउँछौँ तर हामीलाई खान पुग्ने अन्न, सब्जी, माछा, मासु, दूध यहि उत्पादन हुन्छ। त्यसो हुनाले नाकाबन्दीले पनि हामीलाई गलाउन सकेन’, उनले भने।
उत्पादनलाई प्रविधिसँग जोड्न जरुरी रहेको भन्दै उनले राष्ट्रिय अन्न धानको उत्पादन गुणात्मक किसिमले बृद्धि गर्नुपर्ने बताए।नेपालको ६० प्रतिशत भन्दा बढी जनसंख्या अहिले पनि कृषिमा आधारित रहेको उनले बताए। नेपाल कृषिमा आत्मनिर्भर भयो भने अरु क्षेत्रमा आफै आत्मनिर्भर हुने बताए ।
‘कृषि उत्पादनलाई तीव्र गतिमा बढाउन आवश्यक छ। चितवन उर्वर जिल्ला हो। विकसित जिल्ला पनि हो। यहाँहरुसँगै धान उत्सव मनाउने र धान रोप्ने र यसको सन्देश देशभर नै दिने भनेर म आएको हुँ। कृषिको आधुनिकीकरण र व्यवसायीकरण गर्न जरुरी छ’, उनले भने।