मकवानपुरगढी गाउँपालिका आर्थिक बर्ष २०८०/०८१ को लागि ७२ करोड ६५ लाखको बजेट

makwanpurgadhi-rural-municipality

मकवानपुर । मकवानपुरगढी गाउँपालिकाले आर्थिक बर्ष २०८०÷०८१ को लागि ७२ करोड ६५ लाख बढीको बजेट ल्याएको छ ।

गाउँपालिकाकि उपाध्यक्ष मानकुमारी पाख्रीनले गाउँसभाको दोस्रो बैठकमा आर्थिक वर्ष २०८०÷०८१ को लागि ७२ करोड ६५ लाख ५६ हजारको ल्याइएको अनुमानित बजेट प्रस्तुत गरेकी हुन् ।

Advertisement:makwanpurgadhi-rural-municipality

गत असार १० गते वार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुतको क्रममा ६२ करोड २ लाख ५६ हजारको अनुमानित बजेट प्रस्तुत गरेकी थिइन् । अहिले १० करोड बजेट बढेर ल्याइएको छ ।
उनले सभामा विषयगत शाखा सहितका विभिन्न शीर्षकको बजेट प्रस्तुत गरेकी थिइन् । गाउँपालिकास्तरीय चालु खर्चको कार्यक्रमलाई ८ करोड ८९ लाख ८८ हजारको बजेट पेश गरेकी थिइन् । जसमा कर्मचारी पारिश्रमिक सहितका विभिन्न कार्यक्रम तथा योजनाहरु रहेका छन् ।

उनले पालिकाबाट हुने वडागत विभिन्न भौतिक पूर्वाधारहरुमा समेत बजेट छुट्टाएर प्रस्तुत गरेकी छन् । गाउँपालिकाबाट हुने लक्षित वर्गको कार्यक्रम अन्तरगत दलित लक्षितमा १० लाख, जनजाति लक्षितमा १० लाख, अपाङ्ग लक्षित कार्यक्रमलाई ८ लाख, महिला लक्षितमा ९ लाख, बालबालिकामा १० लाख युवा लक्षित कार्यक्रममा ६ लाख, कार्यपालिका सदस्य लक्षित कार्यक्रमलाई १५ लाख बजेट विनियोजन गरिएको छ ।

त्यस्तै, गाउँपालिकामा रहेका विभिन्न विषयगत शाखाहरुलाई पनि बजेट विनियोजन गरिएको छ । महिला तथा बालबालिका शाखालाई १० लाख, स्वास्थ्य शाखालाई ८० लाख, कृषि विकास शाखालाई ६० लाख, पशु शाखालाई ८० लाख, शिक्षा शाखालाई २ करोड, खेलकुदलाई, २५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

गाउँपालिकाले कार्यक्रम-परियोजना अनुसार नेपाल सरकारको शर्सत र विशेष अनुदानहरुको पनि बजेट प्रस्तुत गरिएको थियो । सभामा विनियोजन विधेयक २०८० गाउँपालिकाका प्रवक्ता एवम् ५ नम्बर वडा अध्यक्ष दिपेश दहालले प्रस्तुत गरेका थिए । उनले ७२ करोड ६५ लाख ५६ हजार अनुमानित आय प्रस्तुत गरेका छन् । आन्तरिक स्रोतबाट ११ करोड ६३ लाख हुने, सम्पती बहाल तथा पट्टामा लाग्ने कर ५ लाख, भूमिकर १२ लाख, घरबहाल कर ५ लाख हुने अनुमान रहेको बताए । उनले व्ययतर्फ आर्थिक विकास समितिमा ४करोड ८ लाख, पूर्वाधार विकास समितिमा २९ करोड २४ लाख ३८ हजार, संस्थागत विकास, सेवा प्रवाह र सुशासनमा ५५ लाख ९४ हजार, सामाजिक विकास समितिमा २८ करोड ५३ लाख, ३९ हजार, वन, वातावरण तथा विपद् व्यवस्थापनमा ८७ लाख १७ हजार, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चमा ९ करोड ६५ लाख रहेको बताए । उनले चालु खर्चतर्फ ३४ करोड ९४ लाख ७३ हजार ४ सय ३६ रुपैयाँ र पुजीँगत खर्चतर्फ ३७ करोड ७० लाख ८२ हजार ५ सय ६५ रुपैयाँ रहेको बताएका थिए ।

सभामा पूर्वाधार विकास समितिका संयोजक एवम् २ नम्बर वडाध्यक्ष बखान सिं पाख्रीनले मकवानपुरगढी गाउँपालिकाको खानेपानी उपभोक्ता समितिलाई व्यवस्थित गर्नको लागि बनेको विधेयक प्रस्तुत गरेका थिए । साथै उक्त विधेयक सर्वसम्मत पारित समेत गरिएको छ । त्यस्तै सभामा सभाध्यक्ष एवम् गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानले कार्यान्वयन भएका योजनाहरुको स्वीकृति सम्बन्धमा, खर्चको फाँटबारी स्विकृति सम्बन्धमा, योजना तथा कार्यक्रम स्वीकृति सम्बन्धमा, कार्यपालिका बैठकका निर्णय स्वीकृति सम्बन्धमा र नदीजन्य पदार्थ उत्खनन सम्बन्धमा रहेका प्रस्तावका निर्णयहरु सभामा प्रस्तुत गर्दै सभाले सर्वसम्मत पास गरेको छ ।

प्रतिक्रिया दिनुहोस् :