आलु भण्डारण क्षमता थोरै किसानलाई मर्का
बागलुङ, २६ भदौ : पछिल्लो समय बागलुङमा आलु उत्पादनमा वृद्धि भएको छ । उत्पादन वृद्धि भए पनि आलु पर्याप्त मात्रामा भण्डारण गर्ने सुविधा नहुँदा किसान मर्कामा परेका छन ।
भण्डारणको सुविधा नहुँदा यहाँका किसानले बारीबाटै आलु बेच्ने गरेका छन् । विशेषगरी ताराखोला र ढोरपाटनका किसानले भण्डारण गर्न आलु सस्तोमै बिक्री गर्नुपरिरहेको छ । “आलु पर्याप्त मात्रामा फल्छ, तर राख्ने ठाउँ छैन”, ढोरपाटन नगरपालिका-८ की थमसरा विकले भन्नुभयो, “बारीबाटै बेच्दा सस्तोमा दिनुपर्छ ।” भण्डारणको सुविधा भएको भए आलु बिक्री गरी दोब्बर फाइदा लिन सकिने उहाँले बताउनुभयो ।
ढोरपाटनकै इन्द्रबहादुर सुनारले पनि वर्षको ५० क्विन्टल आलु बेच्ने गरेको बताउनुभयो । भदौ अन्तिम सातादेखि उहाँहरुले आलु खन्ने गर्नुहुन्छ । सडकको पहुँच नभएकाले बजारमा आलु पठाउन नसक्दा कुहिने गरेको सुनारले गुनासो गर्नुभयो । भण्डारण अभावमा वर्षातमै आलु बेच्नुपर्ने बाध्यता छ । ढोरपाटनको पाटक क्षेत्रमा सयौँ क्विन्टल आलु उत्पादन हुने गरेको छ । तर बजारीकरणमा समस्या भएको किसानको गुनासो छ ।
कृषि ज्ञान केन्द्र बागलुङको तथ्याङ्कअनुसार जिल्लाभर तीन हजार ५० हेक्टरमा आलु खेती गरिन्छ । सो जग्गामा ५४ हजार आठ सय १० मेट्रिक टन आलु फलेको तथ्याङ्क छ । जिल्लामा आलुको बीउ पर्याप्त मात्रामा भण्डारण गर्न समस्या छ । गत आर्थिक वर्ष प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले दुई बीउ भण्डार बनाउन सहयोग गरेको छ । परियोजनाको बागलुङ कार्यालयका प्रमुख सुजित पौडेलका अनुसार रु चार लाख अनुदान सहयोगमा किसानले रु सात लाखमा भवन बनाएका थिए । ढोरपाटन-९ को नवी र फलेघरमा १३ मेट्रिक टन आलु भण्डारण गर्न सकिने गरी भवन निर्माण गरिएको छ ।
रुद्रताल कृषि समूह र नवी कृषि समूहका किसानले श्रमदान गरी भवन निर्माण गरेका हुन् । परियोजनाले ताराखोलामा रु २१ लाख तथा स्थानीयवासीको रु चार लाखमा शीत भण्डार केन्द्र निर्माण गरी आलु राख्न थालेका स्थानीय ओमप्रसाद कँडेलले बताउनुभयो । परियोजनाले निसीखोला र निसेल ढोरमा १०/१० मेट्रिक टन क्षमताका तीन बीउ भण्डार केन्द्र निर्माण गरेको छ । त्यसबाहेक गण्डकी प्रदेश सरकारको सहयोगमा काठेखोलामा ५० मेट्रिक टनको आलु भण्डार केन्द्र तथा बागलुङ नगरपालिका र जैमिनी नगरपालिकामा ५०/५० मेट्रिकटन क्षमताका दुई भण्डारण केन्द्र निर्माण गरिएका छन् ।
गलकोटमा भने स्याउलगायत फलफूलसमेत भण्डारण गर्नेगरी स्थानीय व्यवसायीले दुई सय मेट्रिक टन क्षमताको भवन निर्माण गरेका छन् । गलकोट नगरपालिका-३ मा सिद्धभैरव समूहले रु दुई करोड लगानीमा एक सय मेट्रिकटन क्षमतको शीत भण्डारण केन्द्र तथा एक सय मेट्रिक टन क्षमताको भवन निर्माण गरेको छ ।
-रासस