महानगरले खेलकूद विकासलाई प्राथमिकता दिदै प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने

काठमाडौं, ३० भाद्र / काठमाडौं महानगरपालिकाले वाग्मती क्रिकेट सङ्घको सहकार्यमा काठमाडौं क्रिकेट प्रशिक्षक विकास कार्यक्रम आइसिसी लेभल ० क्रिकेट कोच विकास कार्यक्रम सुरु गर्ने भएको छ । महानगरले क्रिकेटका ५० जना नयाँ क्रिकेट प्रशिक्षकहरुलाई तालिम दिएर यस्तो कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमा एक पोष्ट सार्वजनिक गर्दै उक्त जानकारी दिएका छन् । मेयर बालेन शाहले शुक्रवार अबेर पोष्ट गरेको जानकारीमा उक्त कार्यक्रम अन्तर्गत ५० नयाँ क्रिकेट प्रशिक्षकहरूलाई तालिम दिई ती तालिमप्राप्त प्रशिक्षार्थीहरुबालाई सहरभरिका इच्छुक खेलाडीहरूलाई क्रिकेटको ज्ञान र सीपहरू फैलाउन सहयोग गर्ने विश्वास गरिएको छ ।
शाहले सामाजिक सञ्जाल लिङ्क्डइनको आफ्नो पोष्टमा लेखेका छन् ‘पारस खडका, ज्ञानेन्द्र मल्ल, पृथु बास्कोटा पछि काठमाडौँबाट राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गर्ने अर्को खेलाडी नै निस्किएनन् । कारण काठमाडौँमा खेल्ने वातावरण नै नभएर हो । स्थानीय सरकारको दायित्व भनेकै स्थानीय जनतालाई खेल्ने वातावरण तयार पार्ने नै हो । त्यसको अनुरूप हामीले बागमती प्रदेश क्रिकेट सङ्घको प्राविधिक सहयोगमा केही स्कुलहरू तथा वडाहरूमा क्रिकेट नेट राख्ने व्यवस्था गर्दै छौ ।’
क्रिकेटको प्रशिक्षकको अभावमा क्रिकेट खेल्ने शिकारु खेलाडी तयार पार्न नसकिएको पनि मेयर शाहले बताएका छन् । बाग्मती प्रदेश भित्र लेबल १ देखि ३ सम्मको सर्टिफाइड क्रिकेट प्रशिक्षक २५ जना मात्रै रहेकोले प्रशिक्षक र खेलाडीको अनुपातलाई हेर्दा यो संख्या निकै कम भएको पनि उनले ठहर गरेका छन् ।
मेयर बालेन शाहले यस्ता कार्यक्रम मार्फत युवाहरूलाई अनुशासन, टिम वर्क र नेतृत्व कौशल विकास गर्ने ठाउँ दिने, ट्यालेन्ट पूलः क्रिकेट प्रतिभाको संख्या बढाइ, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरहरूमा सम्भावित प्रतिनिधिहरूको पहिचान गरी क्षमता अभिवृद्धि गर्ने पनि प्रतिबद्धता जाहेर गरेका छन् ।

Advertisement:

प्रतिक्रिया दिनुहोस् :