हेटौंडामा दुई दिने हस्तकला प्रदर्शनी सुरु

मकवानपुर – बागमती प्रदेशको राजधानी हेटौंडामा दुई दिने हस्तकला प्रदर्शनी सुरु भएको छ । संविधान दिवसको अवसरमा प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा सामान्य प्रशासन मन्त्रालयको प्रवर्द्धन तथा बागमती प्रदेश हस्तकला संघको आयोजनमा आजबाट प्रदर्शनी भएको हो ।

उक्त प्रदर्शनी हेटौडा उपमहानगरपालिकाको परिसरमा आयोजना गरिएको हो । प्रदर्शनी मेलाको बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा र मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

Advertisement:

मेलामा हस्तकलाका २५ वटा स्टल राखिएको बागमती प्रदेश हस्तकला संघका अध्यक्ष नवीन शाक्यले जानकारी दिए । विशिष्ट मौलिक कला, संस्कृति तथा परम्परागत हस्तकलाको महत्वपूर्ण उद्गमस्थलको रूपमा रहेको अध्यक्ष शाक्यले बताए ।

यस्तै, कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री जम्मकट्टेलले हस्तकलालाई पर्यटनसँग जोडेर विकास एवम् विस्तारको काम गरिने बताए । हस्तकला उद्योगको प्रचारप्रसार तथा अन्तर्राष्ट्रियकरणका लागि प्रदेश सरकारले पहिलो पटक हस्तकला मेला आयोजना गरेको उनको भनाई छ ।

उक्त प्रदर्शनीमा परालको सुकुल, खोस्टाको चकटी लगायतका सामाग्री प्रत्यक्ष रूपमा बनाएर देखाइएको छ भने प्रस्तक कला, धातुकला, काष्ठ कला, चाँदीका गरगहना, चित्रकला, नेपाली हाते कागज, ऊनी तथा फेल्ट, सेरामिक्सका सामानहरु, प्राकृतिक रेशा र कपडाका समानहरु, काठको ठेकी, बाँसुरी, धातुको बाघचाल, विशेष समुदाय विशेष ‘पौभा’ ‘पूँ’ चित्रकला राखिएको छ ।

प्रतिक्रिया दिनुहोस् :