नेपालको पुरुष टी–२० क्रिकेटमा ३ वटा विश्व कीर्तिमान
१० असोज, काठमाडौँ । नेपालले पुरुष टी–२० क्रिकेटमा ३ वटा विश्व कीर्तिमान बनाएको छ ।
कुशल मल्लले टी–२०आई क्रिकेटमा विश्व कीर्तिमानी शतक
१९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा नेपालका अलराउण्ड र कुशल मल्लले टी–२०आई क्रिकेटमा विश्व कीर्तिमानी शतक प्रहार गरेका छन् ।
चीनको हान्झाउमा जारी पुरुष क्रिकेट अन्तर्गत कुशल मल्लले मंगोलिया विरुद्ध अहिले भइरहेको खेलमा ३४ बलमा शतक पूरा गर्दै विश्व कीर्तिमान बनाएका हुन् ।
उनले दक्षिण अफ्रिकाका डेविड मिलर, भारतका रोहित शर्मा र चेक रिपब्लिकका सुदेश विक्रमाशेखरले ३५ बलमा शतक प्रहार गर्दै बनाएको कीर्तिमान तोडेका हुन् ।
यसअघि नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काले २०१९ मा सिंगापुर विरुद्ध ४९ बलमा शतक बनाएका थिए ।
जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी फिनफेङ क्रिकेट फिल्डमा भइरहेको खेलमा कुशल मल्लले ३४ बल खेल्दै ६ चौका र ९ छक्का मद्दतमा शतक पूरा गरेका छन् ।
कुशल मल्ल नेपालका लागि टी-२० आईमा शतक प्रहार गर्ने पाँचौ खेलाडी हुन् । यसअघि पूर्व कप्तानद्वय पारस खड्का र ज्ञानेन्द्र मल्ल तथा दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले टी-२०आईमा शतक प्रहार गरेका थिए।
दीपेन्द्रले ९ बलमै अर्धशतक पुरा गरे
भारतका युवराज सिंहले १२ बलमा अर्धशतक पुरा गरेर बनाएको विश्व कीर्तिमान कसैले तोड्न सकेको थिएन। उनले सन् २००७ मा इङ्ल्यान्डविरुद्ध उक्त सफलता प्राप्त गरेका थिए ।
टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको एकै खेलमा सर्वाधिक रन
नेपालले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको एकै खेलमा सर्वाधिक रन बनाउने टोलीका रुपमा विश्व कीर्तिमान बनाएको छ। नेपालले ३१४ / ३ रन बनाएर विश्व कीर्तिमानी रेकर्ड बनाएको छ । यस अघि टी–२० क्रिकेट खेलमा सर्वाधिक रन २७३/३ रनको रेकर्ड अफगानिस्तानको नाममा रहेको थियो । अफगानिस्तानले आयरल्याण्ड बिरुद्धको खेलमा उक्त रेकर्ड बनाएको थियो ।