महङ्गो शुल्क तिर्दै आएका बड्कुलेबासीलाई अब निशुल्क खानेपानी

हेटौंडा– हेटौंडा– स्थानीय स्तरमा सञ्चालनमा रहेको खानेपानी उपभोक्ता समितिबाट महंगो शुल्कमा पानीको दैनिक उपभोग गर्दै आएका हेटौंडा–१८ बड्कुलेका बासिन्दाले निःशुल्क खानेपानी पाउने भएका छन् ।

२०५८ सालबाट सञ्चालन भएको मौडीखोला खानेपानी तथा सरसफाई उपभोक्ता समिति मार्फत खानेपानीको प्रयोग गर्दै आएका बड्कुलेका १०४ घाराका बासिन्दाले १० हजार लिटर पानीको प्रयोग बापत ६५० रुपियाँ तिर्दै आएका थिए । कर्मचारी, बिद्युत र मर्मत शुल्क गरेर खानेपानीको लागत मंहगो पर्दै आएको थियो समितिका अध्यक्ष राजेन्द्र घलानले बताए । उनका अनुसार समितिले ४ हजार लिटर पानी उपभोग गरे बापत २५० रुपियाँ न्यूनतम शुल्क लिँदै आइएको थियो ।

Advertisement:

मंहगो शुल्कमा पानीको उपभोग गर्दै आएका स्थानीयलाई नियमित पानी दिन समितिलाई आर्थिक भारका कारण समस्या पर्दै गएपछि १८ नम्बर वडा कार्यालय मार्फत खानेपानीको महशुल भुक्तान गरीएको थियो । महशुल भुक्तान गरेसँगै बिहीवार खानेपानी योजना हेटौंडा खानेपानी व्यवस्थापन बोर्डलाई हस्तान्तरण गरिएको छ । बोर्डलाई हस्तान्तरण गरेसँगै बड्कुले बासीले मासिक १० हजार लिटर सम्म पानी निःशुल्क पाउनेछन् ।

हेटौंडा उपमहानगरपालिकाले नगरक्षेत्रमा खानेपानी बोर्ड मार्फत जडित धाराबाट पानीको उपभोग गर्नेलाई १० हजार लिटर सम्म पानी निःशुल्क उपलव्ध गराएसँगै उनीहरुले पानी निःशुल्क पाउने भएका छन् । तोकिए भन्दा बढि पानी उपभोग गरेमात्र महशुल लाग्ने बताइएको छ । बोर्डमा हस्तान्तरण कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले नगरवासीलाई पानीको सुविधाबाट बञ्चित नगराउने उद्देश्य अनुरुप काम भइरहेको बताइन् । सरकार भएको अनुभुति दिलाउँदै नागरिकलाई दायित्व बोध गराउदै जिम्मेवारी दिने तयारी अनुसार अघि बढिरहेको उनको भनाई थियो । नगरवासीले धारामा आएको पानी सोझै प्रयोग गर्ने वातावरण बनाउने तयारीमा रहेको भन्दै उनले खानेपानीको उचित व्यवस्थापनसँगै आर्थिक रुपमा कमजोर भएपनि बिकासको काममा जोड दिदै अघि बढेको बताइन् ।

हर्नामाडि क्षेत्रमा उपभोक्ता समितिले सञ्चालन गरेको ३ वटा योजना बोर्डमा हस्तान्तरण भइसकेको छ भने अहिले २५ हजार घरधुरीले बोर्ड मार्फत खानेपानीको प्रयोग गर्दै आएको बताइएको छ । मौडीखोला खानेपानी तथा सरसफाई उपभोक्ता समिति राजेन्द्र घलानको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा– १८ का वडा अध्यक्ष अनिल बानियाँ, खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप बिष्ट, हेटौंडा उपमहानगरपालिकाका बिज्ञ सल्लाहकार डाक्टर कृष्ण धिताल, बोर्डका कार्यकारी निर्देशक बिष्णु प्रासद सापकोटा लगाएतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस् :