थाहाका जेष्ठ नागरिकको फोटो पाटन दरबार परिसरमा प्रदर्शनी हुने

थाहा – अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा असोज १३ गते शनिवार ललितपुरको पाटन दरवार परिसरमा जेष्ठ नागरिकको तस्वीर प्रदर्शनी गरिने भएको छ ।
“सबै पुस्ताका लागि जेष्ठ नागरिकको मानव अधिकार बारे बिष्वब्यापी घोषणामा गरिएका बाचाहरु पुरा गरौं” भन्ने नाराका साथ राष्ट्रिय फोटोपत्रकार समूह र एजिङ नेपालको आयोजनामा नेपालका हिमाल पहाड र तराईका जेष्ठ नागरिकको तस्वीरहरु प्रदर्शनी गरिने आयोजकले बताएको छ ।
उक्त “तस्बीरमा जेष्ठ नागरिक फोटो प्रदर्शनीैं” मा थाहा नगरका युवा फोटो पत्रकार गणेश बिष्टले खिचेका थाहा नगरका जेष्ठ नागरिकहरुको तस्बीरहरु पनि प्रदर्शनीमा राखिने भएको छ ।
फोटो पत्रकार बिष्ट उक्त फोटो प्रदर्शनी कार्यक्रमको कार्यक्रम संयोजक समेत हुन् ।
कार्यक्रम संयोजक बिष्टले प्रदर्शनीका लागि देशभरका फोटो पत्रकारहरुले खिचेर पठाएका तस्वीरहरु मध्येबाट करिब १०० वटा तस्वीरहरु प्रर्दशनीमा राखिने बताउनुभयो ।
हाल बिश्वमा जेष्ठ नागरिकहरुको संख्या सबैभन्दा बढी रहेको अवस्थामा उनीहरुको सक्रिय जीवनशैलीलाई तस्वीरमा उतारेर प्रदर्शनीमा प्रस्तुत गरिनेछ ।
जेष्ठ नागरिकहरुको दैनिकी, मेहनत, सफलता, पारिवारिक खुसी, संघर्ष तथा सफलता झल्कने तस्वीरहरु प्रदर्शनीमा राखिनेछ । प्रदर्शनीमा राखिने तस्वीरहरुले हालको नयाँ पुस्तालाई उत्साह, उमंग र जाँगर बढाउन मद्दत गर्ने आयोजकले जनाएको छ ।
यस्ता तस्वीर प्रदर्शनीले देशका बिभिन्न स्थानका जेष्ठ नागरिकहरुको अवस्था अध्ययन गर्न र उनीहरुको नैराश्यता र दुःखीपन कमगर्न सहयोग गर्ने कार्यक्रम संयोजक बिष्टले बताउनुभयो ।
राष्ट्रिय फोटो पत्रकार समूहले बिभिन्न संघ संस्थासंगको समन्वयमा बालबालिका तथा पर्यटन प्रवद्र्धनका फोटोहरु प्रदर्शन गर्दै आएको छ ।
संयुक्त राष्ट्रसंघको नेतृत्वमा अक्टोबर १ मा बिश्वभर अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस मनाउँदै आएको छ ।
राष्ट्रिय फोटो पत्रकार समूह देशभरका फोटो पत्रकारहरुको साझा संस्था हो भने एजिङ नेपाल जेष्ठ नागरिकको हक हितका लागि कार्य गर्दै आएको गैरसरकारी संस्था हो ।

Advertisement:

प्रतिक्रिया दिनुहोस् :