प्रधानमन्त्री दाहाललाई छेन्दुमा भव्य स्वागत, प्रम भोली नेपाल फर्कने

छेन्दु (चीन), १२ असोज / चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चीनको छेन्दु पुग्दा भव्य स्वागत गरिएको छ । प्रधानमन्त्री दाहाललाई सिचुवान प्रान्तका उपगभर्नर याङ सिङपिङ, सिचुवान प्रान्त सरकारका उपमहासचिव झी सियोप्याङ, विदेश मन्त्रालयको सिचुआन प्रान्तका निर्देशक चाङ ताओ र विदेश मन्त्रालयको एसियाली मामिलासम्बन्धी विभागका प्रमुखले चीनको छेन्दुमा स्वागत गरेका हुन् ।

प्रधानमन्त्री दाहाल तिब्बतको ल्हासाबाट शुक्रवार बिहानको उडानबाट छेन्दु पुग्दा उनको भ्रमण टोलीलाई भव्य स्वागत गरिएको समाचारमा जनाईएको छ । छेन्दुमा प्रम दाहालले पाण्डा प्रजनन केन्द्रको अवलोकन समेत गरेको बताईएको छ । प्रधानमन्त्री दाहालले आज साँझ चिनियाँ कम्युनिष्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ सियाओसँग भेटवार्ता गर्ने र प्रधानमन्त्रीको सम्मानमा सचिव सियाओद्वारा रात्रिभोजको आयोजना गर्ने कार्यक्रम रहेको पनि समाचारमा जनाईएको छ ।

Advertisement:

बुधबार चीनको छोङछिङबाट ल्हासा पुगेका प्रधानमन्त्री दाहालले बिहीबार कैलाश मानसरोवरको भ्रमण गरेका थिए । प्रधानमन्त्री दाहालले ल्हासामा रहँदा विभिन्न द्विपक्षीय भेटवार्ता गरी बुधबार नै ल्हासास्थित प्राचीन पोताला दरबार र जोखाङ मन्दिरको भ्रमण गरेका थिए । गत शनिवावरदेखि चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री दाहाल र उनको भ्रमण टोलीका सदस्यहरू शनिबार छेन्दुबाटै काठमाडौँ फर्किने भ्रमण तालिका रहेको छ ।

प्रधानमन्त्री दाहालकी छोरी गङ्गा दाहाल सहित, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला सम्मिलित सदस्य रहेको भ्रमण टोलीमा प्रधानमन्त्री दाहालका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, राष्ट्रिय सुरक्षा सल्लाहकार शङ्करदास बैरागी, मुख्यसचिव डा. वैकुण्ठ अर्याल, विभिन्न मन्त्रालयका सचिव र अन्य सदस्यहरू रहेका छन् ।

प्रतिक्रिया दिनुहोस् :