सोह्र श्राद्ध अर्थात् पितृपक्ष आरम्भ

१३ असोज, काठमाडौं । सोह्र श्राद्ध अर्थात् पितृ पक्ष शनिबारदेखि आरम्भ भएको छ ।

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई तर्पण, पिण्ड र सिदादान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो ।

Advertisement:

आजै प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चांग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नसम्म गरिसक्नुपर्ने समितिका सदस्य प्रा.डा. देवमणि भट्टराईले जानकारी दिए ्।

चाडपर्व, यज्ञ तथा ठूलाकार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो।

सोह्रश्राद्धमा पितृले आफ्ना सन्तानबाट तर्पण, पिण्डको आश गरिरहेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ ।

यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको दायित्व पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ। यो पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने शास्त्रीय वचनका आधारमा श्राद्ध गर्ने गरिएको प्राडा रामचन्द्र गौतमले बताए ।

सोह्रश्राद्ध अपराह्नकाल पारेर पिताका तिथिका दिन गर्नुपर्नेमा कतिपय पुरोहितले आफू अनुकुल बिहानै श्राद्ध गर्नु भन्ने गरेको जानकारी आएकाले त्यो शास्त्रसम्मत नभएको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए ।

पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडा दसैँ सुरु हुन्छ। बडादसैँ मनाउनुअघि पितृ तृप्तिका लागि सोह्र श्राद्ध गर्ने गरिएको धर्मशास्त्रीय मत छ । ठूला पर्व वा चाड मनाउनुअघि पितृतृप्तिको कर्म गर्ने वैदिक सनातनी परम्परा छ । यस वर्ष गत साउन महिनामा अधिकमास परेकाले सोह्रश्राद्ध र बडादसैँ पर्व पछि सरेर्को े नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् :