टोखामा नगरपालिकाको राजस्व सप्ताह आजबाट शुरु

काठमाडौं, १४ असोज / टोखा नगरपालिकाले यसअघि घोषणा गरेको प्रथम कर सप्ताह कार्यक्रम आजदेखि शुरु भएको छ । टोखा नगरपालिकाले टोखाको विकास र समृद्धिको आधार, दिगो र फराकिलो स्थानीय कराधार’ भन्ने मूल नाराका साथ प्रथम कर सप्ताह शुरु गरेको हो ।

प्रतिनिधि सभाको दुई वटा निर्वाचन क्षेत्र रहेको टोखा नरपालिकाले आयोजना गरेको प्रथम कर सप्ताहका अवसरमा आईतवार आयोजित प्रभातफेरिमा दुवै निर्वाचन क्षेत्रका प्रतिनिधि सभा सदस्यको पनि सहभागिता रहेको थियो । प्रभातफेरि कार्यक्रम अन्तर्गत भुतखेल चौरमा सञ्चालन भएको कोण सभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रतिनिधि सभामा काठमाडौं निर्वाचन क्षेत्र ५ सांसद एवं नेपाली कांग्रेसका नेता प्रदिप पौडेलले स्थानीय तहको मातहतमा कर प्रणाली रहेकाले करको दायरालाई फराकिलो बनाएर अगाडि बढाउनुपर्ने बताए ।

Advertisement:

टोखा नगरपालिकाले आयोजना गरेको प्रथम कर सप्ताहलाई जोड दिदै नेता पौडेलले अगाडि थपे ‘हाम्रो कर प्रणालीमा समस्या छ, हामीले जनताबाट कर लिन्छौँ तर कर लिएअनुसार जनतालाई अनुभूति दिलाउने खालको योजना दिन सकेका छैनौं, कर प्रणालीमा पारदर्शिता भएको छैन । अब कर सेवालाई प्रविधिमा लैजानुपर्छ ।’ त्यसैगरी उक्त कोणसभा समारोहलाई सम्बोधन गर्दै प्रतिनिधि सभामा काठमाडौं क्षेत्र नं. ६ सदस्य एवं पूर्व शिक्षामन्त्री शिशीर खनालले स्थानीय तहद्वारा यसरी आयोजना गरिएको करसम्बन्धी कार्यक्रमले स्थानीय करदाताहरुलाई हौसला प्राप्त हुने बताए ।

सो अवसरमा समारोहको सभापतित्व गरेका टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाले आन्तरिक कर प्रणालीलाई मजबुत बनाउनका लागि कर सप्ताह आयोजना गरेको प्रष्ट पार्दै कर सप्ताहबाट राजस्व सङ्कलन बृद्धि हुनेमा आफू विश्वस्त रहेको बताए भने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले नगरपालिकाको आन्तरिक स्रोत वृद्धि गर्दै करको दायरालाई फराकिलो बनाउन कार्यपालिकाको बैठकको निर्णयानुसार राजस्व सप्ताह आयोजना गरिएको जानकारी दिए ।

टोखाले उठाउने राजस्वमध्ये सबैभन्दा बढी सम्पत्ति करमा ५० प्रतिशत, व्यावसायिक कर ३३ प्रतिशत, घरबहाल कर १६ प्रतिशत र अन्य शीर्षक अन्तर्गत १० प्रतिशत रहेको पनि प्रमूख प्रशासकयी अधिकृत विसीले उल्लेख गर्दै टोखा नगरपालिकाको राजश्व बढाउने उद्देश्य कर सप्ताह कार्यक्रमको आयोजना गरिएको बताए । उनले कर सप्ताह कार्यक्रममा करदातालाई करसम्बन्धी शिक्षा प्रदान गर्ने मूख्य उद्देश्य रहेको पनि प्रष्ट पारेका छन् ।

टोखा नगरपालिकामा व्यवसाय दर्तादेखि लिएर सम्पत्ति र घर बहाल करसम्मको शिक्षा नगरबासीहरुमा पु¥याउन आयोजना गरिएको यस कार्यक्रमअन्तर्गत भोलीदेखि स्वयम् सेवक घर घरमा पठाएर कर शिक्षा प्रदान गर्ने, वडा वडा कर शिविर सञ्चालन गर्ने, असोज १६ गतेदेखि ३ दिन नगरपालिकाको मूख्य चोकमा विभन्न जनचेतनामूलक सडक नाटक प्रदर्शन गर्ने, रक्तदान तथा स्वास्थ्य शिविर सञ्चालन गर्ने कार्यक्रम रहेको पनि जानकारी दिईएको छ । त्यसैगरी कर सप्ताह कार्यक्रम अन्तर्गत कर शिक्षाका लागि स्वयम्सेवक परिचालन गरेर घरदैलो कार्यक्रम पनि सञ्चालन गरिने बताईएको छ । करदाता शिक्षा प्रवाह गर्न टोखा नगरपालिकाले १८ गते विद्यालयस्तरमा करसम्बन्धी बक्तित्वकला प्रतियोगिता पनि सञ्चालन गर्ने छ । ९ वटा सामुदायिक विद्यालय र ८४ वटा आवासीय विद्यालयले यो प्रतियोगितामा सहभागिता जनाउने जानकारी टोखा नगरपालिकाका प्रमूख प्रशासकीय अधिकृत विसीले दिएका छन् ।

टोखा नगरापालिकाले आयोजना गरेको ‘प्रथम कर सप्ताह कार्यक्रम २०८०’ को प्रभातफेरि कार्यक्रममा बाजागाजा र मौलिक झाँकीसहित शुरु सञ्चालन गरिएको थियो । छिमेकी नगरपालिकाका मेयर र उपमेयरहरु समेत रहेको उक्त प्रभातफेरि कार्यक्रममा स्थानीय सुरक्षा निकाय, सरकारी कार्यालयका प्रमूख, राजनीतिक दलका स्थानीय तहका नेताहरु, विभिन्न सामाजिक संघ संस्था, सहकारी संस्थाका अधिकारीहरु, पेशागत संगठन तथा ब्यावासयक संगठनका नेतृत्वहरुसहित २ हजारभन्दा बढीको सहभागिता रहेको थियो । कर सप्ताह कार्यक्रममा विभिन्न स्थानबाट योगदान पु¥याउने ब्यक्ति तथा संघ संस्थाहरुलाई पुरस्कार तथा सम्मान गर्ने कार्यक्रम पनि रहेको प्रमूख प्रशासकीय अधिकृत शेरबहादुर विसीले जानकारी दिएका छन् । उनका अनुसार कर सप्ताहको अन्तिम दिन बढी कर तिर्ने करदातालाई नगरपालिकाले पुरस्कार र सम्मान गर्ने कार्यक्रम पनि रहेको छ ।

प्रतिक्रिया दिनुहोस् :