भन्सार राजस्व संकलनमा सामान्य सुधार, भारतसँग १ खर्ब ४४ अर्बको व्यापारघाटा

१४ असोज, काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को भदौ महिनमा भन्सार राजस्वमा केही सुधार आएको भन्सार विभागले जनाएको छ ।

चालु आर्थिक वर्षको पहिलो महिनाभन्दा दोस्रो महिना भदौमा भन्सार राजस्व ३५ अर्बले राजस्व वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको भदौ महिनाको तथ्यांकअनुसार साउनभन्दा भदौ राजस्व संकलन सुधार आएको छ ।

Advertisement:

चालु आर्थिक वर्ष पहिलो महिना साउनको भन्सार राजस्व संकलन ३२ अर्ब ३३ करोडमात्र उठेको थियो । चालु आवको दोस्रो महिना भदौमा भन्सार राजस्व संकलन ३५ अर्ब रुपैयाँ बढेर ६७ अर्ब ४७ करोड रुपैयाँ उठेको छ । भन्सार राजस्व संकलन लक्ष्यसँग तुलना गर्दा राजस्व लक्ष्यभन्दा कम नै उठेको छ । तर, साउन महिनासँग तुलना गर्दा भदौमा सुधार आएको तथ्यांकले देखाएको छ ।

भन्सार विभागले भदौ मसान्तसम्म ८९ अर्ब १० करोड रुपैयाँ राजस्वको लक्ष्य दिइएको थियो । लक्ष्यको तुलनामा ७६ प्रतिशत राजस्व उठाएको भन्सार विभागका निर्देशक पुण्यविक्रम खड्काले जानकारी दिए । विभागले सार्वजनिक गरेको भदौको तथ्यांकअनुसार दुई महिनामा मुलुकले कुल २ खर्ब ८६ अर्ब १९ करोडको वैदेशिक व्यापार ६७ अर्ब ४७ करोड राजस्व संकलन गरेको हो ।

आर्थिक वर्षको पहिलो साउनमा १ खर्ब २९ अर्ब रुपैयाँ वस्तु आयात भएको थियो, जसमा ३२ अर्ब ३३ करोड राजस्व संकलन भएको थियो । विभिन्न मुलुकसँग २ खर्ब ३३ अर्ब ३० करोड घाटा नेपालले बेहोरेको छ । भन्सार विभागको तथ्यांकअनुसार भदौमा आयात पनि बढेको छ । यसैगरी गत आर्थिक वर्ष सोही अवधिमा ६७ अर्ब १६ करोडको भन्सार राजस्व उठेको थियो ।

गत आर्थिक वर्षको भदौ मसान्तसम्मको तुलनामा चालु आवको सोही अवधिमा वस्तुको आयात २ दशमलव ६ प्रतिशत र निर्यात ७ दशमलव ७९ प्रतिशतले घटेको छ । यो अवधिमा समग्र वैदेशिक व्यापारमा ५ दशमलव ३२ प्रतिशतको घटेको छ । गत साउन र भदौमा नेपालले भारतबाट मात्र १ खर्ब ६० अर्ब ७५ करोड बराबरको वस्तु आयात हुँदा १६ अर्ब ७३ करोड रुपैयाँको निर्यात भएको छ । नेपालले यो अवधिमा भारतसँग मात्र १ खर्ब ४४ अर्बको व्यापारघाटा छ ।

प्रतिक्रिया दिनुहोस् :