बागमती प्रदेश सभा : प्रतिपक्षका सांसदले अवरोध गरेपछि…

मकवानपुर – बागमती प्रदेश सभाको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । प्रमुख प्रतिपक्ष नेकपा एमाले र अन्य प्रतिपक्ष दलका सांसदहरुको अवरोधपछि प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले बैठक स्थगित गरेका हुन् ।

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले पुर्नविचारको लागि फिर्ता पठाएको प्रदेशस्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पुनः छलफलका लागि सभामुख पाठकले आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामालाई सभामा पेश गर्न समय दिएका थिए ।

Advertisement:

सभामुख पाठकले समय दिएपछि मन्त्री लामाले सभामा उक्त विधेयक पेश गर्दै गर्दा प्रतिपक्ष दलका सांसदहरुले विधेयक पेश गर्नुअघि प्रदेश सभाका सदस्यहरुलाई सूचना नदिएको भन्दै विरोध  जनाए । सभामुखले उनीहरुलाई पटक–पटक आ–आफ्नो आसन्नमा बस्न अनुरोध गरेपनि नमानेपछि बैठक स्थगित गरे ।

उक्त विधेयक यसअघि प्रदेश सभाबाट सर्वसम्मत पारित भएपनि प्राविधिक त्रुटी र अधिकांश शब्द संयोजनहरुसमेत नमिलेकाले पुर्नविचार हुन आवश्यक देखिएको भन्दै प्रदेश प्रमुखले पुर्नविचारको लागि फिर्ता पठाएका थिए ।

प्रतिक्रिया दिनुहोस् :