वैदेशिक रोजगारीको नयाँ गन्तव्य बन्दै रोमानिया, शुक्रबार द्विपक्षीय श्रम सम्झौता हुने

१७ असोज, काठमाडौं । नेपाल र युरोपियन मुलुक रोमानियाबीच शुक्रबार द्विपक्षीय श्रम सम्झौता हुने भएको छ ।

श्रम सम्झौता गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीको नेतृत्वमा चार सदस्यीय टोली बुधबार रोमानिया जाँदै छ ।

Advertisement:

श्रममन्त्री भण्डारी र समकक्षी सिमोना वुक्युरा–अप्रेस्क्युबीच श्रम सम्झौतामा हस्ताक्षर हुन लागेको हो । पछिल्लो समय रोमानिया नेपाली श्रमिकको नयाँ गन्तव्य बन्दै छ । गएको तीन वर्षमा १० हजार नेपाली रोमानिया गइसकेका छन् । अघिल्लो आर्थिक वर्षमा ६ हजार ४ सय १८ जना गएका थिए ।

विश्व बैंकको प्रतिवेदनअनुसार रोमानियाले विदेशी लगानीकर्तालाई प्रोत्साहन गर्ने नीति लिएपछि रोजगारीका अवसर खुल्न थालेका हुन । स्थानीय नागरिक अन्य विकसित मुलुक जाने गरेका कारण रोमानियाका कम्पनीले सस्तो ज्यालामा काम गर्ने नेपाली लैजान थालेको म्यानपावर व्यवसायीको भनाइ छ । रोमानियामा धेरै नेपाली होटल, निर्माण, उद्योग र पशुपालनका क्षेत्रमा जाने गरेका छन् ।

रोमानियाले आफ्ना नागरिकका लागि न्यूनतम ज्याला ६ सय डलर निर्धारण गरेको छ । नेपालीले भने मासिक ५ सय ५० डलर मात्र पाउने गरेका छन् ।

श्रम मन्त्रालयका रोजगार व्यवस्थापन महाशाखाका प्रमुख राजीव पोखेरलले पहिलो चरणमा छोटो प्रकृतिको श्रम सम्झौता गर्न लागिएको बताए । दइदेशबिचको श्रम सम्झौताले नेपालीलाई रोजगारीको अवसरको ढोका खोल्ने र नेपाली श्रमिकको सामाजिक सुरक्षा सुनिश्चितका लागि सम्बोधन गर्ने विभागको दाबी छ ।

प्रतिक्रिया दिनुहोस् :