व्यवसायमा इमान्दारिताको खाँचो छ (दाजुभाइ)

दीपक गौतम, सञ्चालक :दाजुभाइ स्वीट्स एण्ड फाष्ट फुड

वैदेशिक रोजगारी गएर फर्किएपछि आफ्नै देशमा आफू स्वारोजगार भएर अरु झण्डै ६ दर्जन बढी जनशक्तिलाई विदेश पलायन हुनबाट बचाउन अनि मकवानपुरकै एक सफल आतिथ्यता सत्कार व्यावसायिक प्रतिष्ठन हो बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको “दाजुभाइ स्वीट्स एण्ड फाष्ट फुड” । विक्रम् सम्बत २०६६ सालदेखि स्थापना गरी सञ्चालनमा ल्याइएको दाजुभाइ स्वीट्सले डेढ दशकमा आफ्नो लोकप्रियताले सफलताको शिखर चुम्न पुगेको दाजुभाइ फास्ट फुड एण्ड स्वीट्सका सञ्चालक दीपक गौतम बताउँछन् ।

जन्म थलो काभ्रे जिल्लाको कातिके देउराली, ज्यामीरे भए पनि बागमती प्रदेशको राजधानी हेटौंडालाई कर्मथलो बनाएका दीपक गौतमका बुबा खडानन्द गौतम र आमा दीलरुपा गौतमका ५ सन्तानमध्ये ३ दाजुभाइ मिलेर सक्रीय रुपमा यो व्यवसाय सञ्चालन गर्दै आईरहेका छन् । वैदेशिक रोजगारमा करिब ३ वर्ष विताएका दीपक गौतमले विदेशमा सिकेको व्यवसाय सञ्चालनसम्बन्धी सीप र अभ्यासबाट हासिल गरेको अनुभव अनि आत्म बललाई आफ्नै देशमा ल्याएर नमूना व्यावसायिक प्रतिष्ठान सञ्चालनमा लगानी गरेको उनको भनाई रहेको छ ।

Advertisement:

करिब ३ वर्ष वैदेशिक रोजगारीमा रहदा दैनिक १८ घण्टासम्म काममा खटिन सक्ने तर त्यति नै श्रम आफ्नै देशमा पनि गर्न सकिने साथै यसो गर्दा आफ्नै देशमा आफ्नै व्यवसाय सञ्चालन गर्ने हो भने सफलता हासिल हुन सक्ने दृष्टिकोणका साथ स्वदेश फर्किएर आतिथ्यता सत्कार व्यवसाय आफूहरुले सञ्चालनमा ल्याएको सञ्चालक तीन भाइ मध्येका एक दीपक गौतम बताउँछन् । आफ्नो व्यवसायबाट सफलता प्राप्त गर्नु व्यवसायप्रतिको इमानदारिता र सेवाग्राहीलाई दिनु पर्ने सेवा तथा गुणस्तरीयतामा हुनु पर्ने विश्वनीयता नै भएको सञ्चालक दीपक गौतमको बुझाई छ ।

‘विशेष गरी लगानीको अभावमा आफूहरुले सोच र चिन्तन भएर पनि विदेश जानुअघि यस्तो व्यवसाय सञ्चालन गर्न सकिएन, विदेश गएर कमाएको पैसा र अनुभवलाई स्वदेशभित्रै आफ्नै ठाउँमा व्यवसायमा लगानी गर्ने अठोट लिएर फर्किएका थियौं । त्यहि अनुभव र लगानी दाजुभाइ स्वीट्स एण्ड फाष्ट फुडमा लगायौं’ सञ्चालक दीपक भन्छन् ‘हामीले लक्ष्य बनाएका थियौं । एक्लै त्यहाँ पुग्न गाह्रो हुने तर एकै घरका परिवारका सबै जना एक जुट भएर लागी पर्यौं भने हामी सफल हुन सक्छौं भन्ने सम्भावना देखेर यो व्यवसायमा लगानी गरका थियौं । त्यसले हामीलाई लक्ष्यसम्म ल्याएको महशुस भएको छ ।’

२०४३ साल चैत्र १ गते जन्मिएका दीपक गौतमले २४ वर्षको उमेरदेखि नै आफ्नै व्यवसाय सञ्चालन गरेर आफू स्वरोजगार बन्दै आफ्नो परिवारका अन्य सदस्यहरुमात्रै नभई रोजगारको खोजीमा रहेका अन्य जनशक्तिलाई पनि अवसर प्रदान गर्ने सोच लिएर व्यवसाय सञ्चालन गर्ने तयारीमा जुट्दा उनको परिवारमा भएको मतैक्यताले नै दाजुभाइ स्वीट्स एण्ड फाष्ट फुडलाई सफलता दिलाएको सञ्चालक दीपक गौतम प्रष्ट पार्छन् । आफूले सञ्चालन गर्दै आएको यो व्यावसायिक प्रतिष्ठानमा उत्पादन र सेवा तर्फ झण्डै ६ दर्जन जनशक्तिले रोजगार प्राप्त गरेको र ती जनशक्तिको पारश्रमिकमा आश्रित परिवारको चुलो बल्न पनि सहज भएको उनी बताउँछन् ।

नेपाली समाजमा कतिपय एउटै परिवारका दाजुभाइबीचको आपसी सम्बन्ध चिसो हुने गरेको र दाजुभाइबीच एक प्रकारको मान्यता बनाएर ‘शत्रुको मुख हेर्नु पर्दा दाजुभाइको मुख हेरे पुग्छ’ भन्ने उखानहरु पनि चलचल्तीमा रहेको तर दाजभाइ नै मिलेर संयुक्त रुपमा सञ्चालन गरेको दाजुभाइ स्वीट्स एण्ड फाष्ट फुड भने निकै नै लोकप्रिय व्यावसायिक प्रतिष्ठान बन्न सफल भएको छ, यसको खाश कारण के हो ? भनेर राखिएको जिज्ञाषामा सञ्चालक दीपक गौतम भन्छन् ‘परिवारबाहिरका सदस्यहरुसँगको साझेदारीमा भन्दा एकै घर परिवारका सदस्यले हौसला, विवेक र लगनशील अनि पारिवारिक जिम्मेवारी बोध गरेर सञ्चालन गरेको व्यवसाय कहिल्यै असफल हुदैन । एक त पारिवारिक जिम्मेवारी र पारिवारिक शिक्षा अनि अनुशासनका साथ एक आपसीसम्बन्ध सुममधुर हुने किसिमको व्यवहार परिवारले निर्वाह गर्नु पर्दछ । हामीमा त्यस्तो व्यवहार रहेको छ । त्यति मात्रै होइन, दाजुभाइ मिलेर गरिएको व्यवसायमा एक भाईले व्यवस्थापन, एक भाईले बजारीकरण र एक भाइले सन्तुलन कायम गर्ने जिम्मेवारी वहन गर्न सकिएको कारणले आज दाजुभाइ स्वीट्स एण्ड फाष्ट फुड सफल ब्यावसायिक संस्था बन्न पुगेको छ ।’

शुरुमा हेटौंडाको हुप्राचौर शीतल महलमा दुई दाजुभाइ मिलेर दाजुभाइ डुनोट नाम राखी स्वस्थ र स्वादिष्ट डुनोट उत्पादन गरेर विक्री गर्दै जाँदा आफ्नो उत्पादनलाई माया गरेर उपभोक्ताहरुले दिएको माया र हौसलाले दाजुभाइ स्वीट्स एण्ड फाष्ट फुडलाई सफलता प्राप्त भएको सञ्चालक दीपक गौतम बताउँछन् । उनी भन्छन् ‘अहिले हाम्रो पसलको संरचना जति क्षेत्रफलमा फैलिएको छ, यो पनि कुनै बेला त कम हुन्छ, यसबाहेक सेवाग्राहीहरुले माग गरे भने हामीले घरदैलोसम्म मागअनुसार सेवा प्रवाह गर्दै आईरहेका छौं । उपभोक्ताहरुले हामीलाई दिनु भएको यो अवसरले राज्यलाई राजस्व प्राप्त गर्न र रोजगारको अवसर समेत दिलाएको छ । यो कार्यमा हाम्रा कारिन्दा, व्यवस्थापन पक्ष र सेवाग्राहीको राम्रो तालमेलले गर्दा नै भएको हो ।’

आफू पनि विदेशमा श्रमिक भएर अनुभव गरेको कारण श्रम शेषण व्यावसायिक व्यवस्थापकको सबभन्दा ठूलो सत्रु भएको सञ्चालक गौतमको बुझाई छ । यहि व्यवसायमा सञ्चालकले २ त्यहि व्यवसाय बाट तलाको भवन बनाउन सकियो भने यसमा काम गर्ने कारिन्दाले पनि उनीहरुको लगनशीलता र इमान्दारिताको आधारमा कम्तिमा एक तलाको आवास बनाउन सक्ने वातावरण बनाउन सक्ने हो भने जनशक्ति व्यवस्थापन गर्न कठिन हुदैन भन्ने उनको बुझाई छ । राज्यलाई राजस्व भुक्तानी, रोजगारमा अवसरलगायत राज्यलाई विभिन्न प्रकारको योगदान दिए बापत राज्यबाट पनि केही उपलब्धी यहाँहरुले पनि प्राप्त गर्नु भएको छ ? भन्ने प्रश्नमा सञ्चालक दीपक गौतम भन्छन् ‘नेपालमा व्यवसायीहरुको नाममा राज्यका सरोकारवालाहरुले लाभ लिने र व्यवसायीले त्यस्तो सुविधा पाएको जस्तो मलाई लाग्दैन । उल्टै विभिन्न बहानामा व्यवसायीलाई बढी रकम असुल्ने आधारको खोजी गरिन्छ । राज्यलाई तिर्नु पर्ने कर तिररे राज्यले दिने सेवा सुविधा अरु देशमा थुप्रै हुन्छन् । व्यवसायीहरुलाई प्रोत्साहनका कुनै गतिविधिहरु छैनन् । त्यहि कारणले पनि नेपालीहरु नेपालमा युवाहरु स्वरोजगार हुने, रोजगारीका लागि नेपालभित्र अवसर खोज्नुभन्दा विदेश जानु कल्याण देख्नेहरुकै कारण नेपालबाट विदेश पलायन हुने क्रम बढ्दो छ ।’

राज्यस्तरबाट यहाँहरु जस्ता सेवा प्रदायकहरुको प्रतिष्ठानहरुमा राज्यले अनुगमनका नाममा विभिन्न प्रकारका ज्यादती गर्ने गरेको गुनासो पनि व्यवसायहरुले गर्ने गरेका छन्, यस विषयमा यहाँ के भन्नु हुन्छ ? भनेर राखिएको जिज्ञाषामा सञ्चालक दीपक गौतम भन्छन् ‘कुनै पनि व्यवसायीहरुले सञ्चालन गरेका प्रतिष्ठानहरुमा राज्यस्तरबाट हुने अनुगमन प्रभावकारी हुनु जरुरी छ । अनुगमन नगर्ने हो भने सेवा प्रदायक तथा उत्पादकहरुले अराजक बन्न सक्छन् । नियमक निकालयले अनुगमन नगर्ने हो भने उपभोक्ताहरु र राज्य पूर्ण रुपमा विभिन्न रुपमा ठगिनु पुग्छन् । त्यसैले अनुगमन निष्पक्ष र शैद्धान्तिक हुनु जरुरी छ ।’

नेपालमा उद्योग र व्यवास पनि विस्तारै सेलाउने तरखरमा देखा परेको भन्दै दाजुभाइ स्वीट्स एण्ड फाष्ट फुडका सञ्चालक दीपक गौतमले नेपालमा व्यवसायीहरु पनि सच्चिनु पर्ने, नियमक निकायले पनि अनवाश्यक झण्झट निकालेर सेवाग्राहीहरुलाई दुःख दिने सोच बदल्नु पर्ने मान्यता राख्दै आईरहेका छन् ।

प्रतिक्रिया दिनुहोस् :