इजरायलमा मारिएका नेपालीको सम्मानमा राष्ट्रिय शोकको घोषणा

काठमाडौं, २२ असोज/ सरकारले इजरायलमा भएको भिषण आक्रमणमा परी मृत्यु भएका १० नेपालीको सम्मानमा राष्ट्रिय शोकको घोषणा गरेको छ । इजरायलमा भएको आक्रमणमा परी ज्यान गुमाउने नेपालीहरुको सम्मानमा मङ्गलवार शोक मनाउन लागिएको हो ।

आकस्मिक रुपमा सोमवार बसेको मन्त्री परिषद्को बैठकले इजरायलमा मारिएका १० नेपालीको सम्मानमा राष्ट्रिय शोकको घोषणा गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ भने घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । सरकारले दिवंगत भएका नेपालीहरुप्रति सम्मान व्यक्त गर्न २०८० असोज २३ गते राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरुमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको सञ्चारमन्त्री एव सरकारका प्रबक्ता रेखा शर्माले बताएकी छिन् ।

Advertisement:

बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले परराष्ट्र मन्त्रालयले इजरायल सरकारसँग समन्वय गरी मृतकहरुको शव यथाशीघ्र ल्याउने तयारी भएको पनि जानकारी दिएकी छिन् । मृतकका परिवारलाई राहत स्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको र यो रकम अर्थ मन्त्रालयले गृहसँग समन्वय गरेर उपलब्ध गराईने मन्त्री शर्माले बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस् :