यसवर्ष मनसुनी वर्षा अझै जारी रहने

काठमाडौं, २३ असोज / नेपालमा यसवर्ष मनसुन वर्षा अझै केहि समयसम्म जारी रहने मौषमविद्हरुले अनुमान गरेका छन् । मनसुनी समयमा जति वर्षा हुनु पर्ने हो त्यति वर्षा भई नसकेकोले यो प्रभाव अझै जारी रहने मौषमविद्हरुले अनुमान गरेका हुन् ।

मनसुनी अवधिमा ८८ दशमलब पाँच प्रतिशत मात्र वर्षा भएको र वर्षायाममा सरदर ४ महिनासम्म मनसुन चल्ने र सो अवधिमा हुने वर्षाको परिमाण यस वर्ष नसकिएकोले मनसुनी वर्षा अझै केहि समय जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Advertisement:

विभागका अनुसार मनसुनको अवधि जुनदेखि सेप्टेम्बर महिना अर्थात् चार महिनाको अवधि मानिदै आएको र यस वर्ष सरदरभन्दा कम वर्षा भएको छ । नेपालमा मनसुन अवधिमा सरदर एक हजार चार सय ७२ मिलिमिटर वर्षा हुने गरेकामा यस वर्ष मनसुन अवधिमा एक हजार तीन सय तीन मिलिमिटर वर्षा भएको छ ।

विभागका मौषमविद सुदर्शन हुमागाईले आँकलन गरेअनुसार यस वर्षको मनसुन सरदरभन्दा कम वर्षा भएको बताए । उनले सरदरभन्दा कम वर्षा हुने आँकलन गरिए पनि जोमसोममा दुई सय दस दशमलव सात मिलिमिटर वर्षा भएको छ, जुन सरदरको एक सय ३३ दशमलव पाँच प्रतिशत हो ।

त्यस्तै काठमाडौँमा एक हजार दुई सय ८३ मिलिमिटर वर्षा भएको छ । जुन सरदरको एक सय नौ प्रतिशत हो । काठमाडौंमा मनसुन अवधिमा सरदर एक हजार एक सय ७६ दशमलव चार मिलिमिटर वर्षा हुन्छ । त्यसैगरी ओखलढुङ्गामा एक हजार चार सय ९२ दशमलव एक मिलिमिटर वर्ष भएको छ, जुन सरदरको एक सय ७ प्रतिशत हो ।
यसपाली जनकपुरमा सरदरको आधा हाराहारी वर्षा भएको छ । यस वर्ष छ सय ३७ दशमलब एक लिलिमिटर वर्षा मापन गरिएको छ । जनकपुरको सरदर वर्षा एक हजार एक सय ९५ दशमलब आठ मिलिमिटर हो ।

नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पश्चिमी भू–भाग भएर यही असोज १९ गते यस वर्षको मनसुन बाहिरिए पनि देशका अन्य भू–भागमा मौसम कायमै रहेको छ । बाँकी भू–भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नेपालको पूर्वी तथा मध्य भू–भागमा मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक असर रहेकाले अझै एक÷दुई दिन देशका कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

नेपालबाट मनसुन पूर्णरूपमा बाहिरिन अझै केही दिन लाग्ने र देशको पूर्वी र मध्य भागमा मनसुन कायमै रहेकाले बदली र हल्का वर्षाको सम्भावना महाशाखाका मौसमविद गङ्गा नगरकोटीले जानकारी दिएका छन् । नेपालमा मनसुन बहिर्गमनको औसत मिति अक्टोबर २ तारिख भए पनि यस वर्षको मनसुन औसत मितिभन्दा केही दिन ढिलो बाहिरिएको हो ।

बङ्गालको खाडीको उत्तर–पश्चिम भागमा विकास भएको न्यूनचापीय क्षेत्रको असरले मनसुन बहिर्गमनमा ढिलाइ भएको थियो । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । यस वर्ष सरदर मितिभन्दा एक दिन ढिलो अर्थात जुन १४ तारिख (जेठ ३१ गते) मनसुन भित्रिएको थियो ।

प्रतिक्रिया दिनुहोस् :