जर्मनले नेपाली जनशक्ति लैजाने घोषणा, श्रमिकले भिषाका लागि खर्च गर्नु नपर्ने

काठमाडौं, २४ असोज/ जर्मनले नेपालबाट दक्ष जनशक्ति लैजाने भएको छ । दक्ष नेपाली जनशक्ति लैजान तयार गरिएको घोषणा पत्रमा दुवै देशका अधिकारीहरुले हस्ताक्षर गरेपछि नेपाली जनशक्ति जर्मनमा श्रमका लागि जान पाउने भएका हुन् ।

नेपाल र जर्मनीले दक्ष श्रम आप्रवासन र ज्ञान आदानप्रदानका लागि तयार गरिएको संयुक्त घोषणा पत्रमा जर्मनीको संघीय श्रम तथा सामाजिक मामिला मन्त्रालयमा मंगलबार दुई पक्षबीच हस्ताक्षर भएको अधिकारीहरुले जनाएका छन् । जर्मनीका लागि नेपालका राजदूत रामकाजी खड्का र जर्मन संघीय रोजगार निकायका अन्तर्राष्ट्रिय मामिलाका निर्देशक माइकल भान डेर क्यामेनले घोषणा पत्रमा हस्ताक्षर गरेका थिए । सो अवसरमा नेपालका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीको उपस्थिति रहेको थियो ।

Advertisement:

जर्मन भ्रमणमा रहेको मन्त्री भण्डारीको नेतृत्वको उच्चस्तरीय टोली र त्यहाँका राज्य सचिव (उपमन्त्री) को नेतृत्वमा रहेको उच्चस्तरीय जर्मन प्रतिनिधि मण्डलबीच भएको द्विपक्षीय भेटवार्ताका अवसरमा दुई पक्षबीच नेपाल–जर्मनी द्विपक्षीय सम्बन्ध, दक्ष श्रम आप्रवासन, श्रमिकको हित तथा सामाजिक सुरक्षा, जर्मन भाषा तथा व्यावसायिक तालिम र सर्कुलर माइग्रेसन लगायत विषयमा विचार आदानप्रदान गरिएको थियो ।

पछिल्ला वर्षहरूमा दुई देशबीच बढ्दै गएको सम्बन्धप्रति भेटमा दुवै पक्षबीच खुसी साटासाट भएको थियो । नेपालबाट जर्मनीमा श्रमिकहरूको न्यायपूर्ण र वैधानिक भर्ना प्रक्रियाको पहिलो कदम हुने हस्ताक्षरित घोषणापत्रमा उल्लेख गरिएको छ । मित्रराष्ट्र जर्मनीसँग पारस्परिक हितका सबै क्षेत्रमा सहकार्य गर्न नेपाल इच्छुक रहेको मन्त्री भण्डारीको जवाफमा जर्मन अधिकारीहरूले त्यहाँको आवश्यकता अनुसार दक्ष श्रमिक भर्ना प्रक्रिया अघि बढाउने बताए ।

यो समझदारी नेपालबाट अवसरको खोजीमा विभिन्न मुलुक जाने नेपालीहरूको पारिश्रमिक, सामाजिक सुरक्षा जस्ता कुराहरूको ग्यारेन्टी गर्ने र उनीहरूको मानव अधिकार समेत सुनिश्चित हुने श्रम मन्त्रालयका सहसचिव राजीव पोखरेलले धारणा राखे । सहसचिव पोखरेलका अनुसार अब छिट्टै नेपालले जर्मनीमा प्रशिक्षार्थी श्रमिक पठाउने छ । प्रशिक्षार्थी श्रमिकहरूलाई जर्मनीले एक वर्ष व्यावसायिक तालिम प्रदान गरेपछि सम्बन्धित क्षेत्रमा रोजगारी उपलब्ध गराने तर तालिम अवधिको सुविधा दिईने भए पनि श्रममा भर्ति भएपछि दिईने पारिश्रमिक भने तोक्न बाँकी रहेको आमसञ्चार माध्यमहरुलाई बताईएको छ ।

जर्मनको निर्माण क्षेत्र, कलकाराखनालगायत क्षेत्रमा आवश्यकता अनुसार श्रमिक माग हुने र उक्त अवसरका लागि जान चाहने नेपाली श्रमिकहरुले अनलाईनबाटै आवेदन फारम भर्न सक्ने बताईएको छ । भिजिट भिषा वा अवैध रुपमा नेपाली श्रमिकहरु अहिले पनि जर्मन पुगेर श्रम गरिरहेको अवस्था रहेकोमा श्रमिकहरुले अनावश्यक खर्च ब्यहोर्नु नपर्ने गरी सरकारले जर्मनसँग श्रमसम्बन्धी सम्झौता गरेको सहसचिव पोखरेल जानकारी दिए ।

खाडी मुलुकहरुमा भन्दा युरोपियन मुलुकमा राम्रो कमाइ भएका कारण देशमा अत्याधुनिक प्रविधि, सीप र बढी वैदेशिक मुद्रा भित्र्याउन सकिने भएकोले सरकारले यी मुलुकमा श्रमिक पठाउन जोड दिएको मन्त्रालयले जनाएको छ । मध्यपूर्व तथा खाडीको तुलनामा युरोपमा आकर्षक पारिश्रमिक तथा सेवासुविधा हुने हुँदा श्रमिकहरूको आर्थिक अवस्थामा पनि सुधार पुग्ने विश्वास लिइएको छ । सरकारले यसअघि युरोपियन मुलुक रोमानियासँग श्रम समझदारी गरिसकेको छ । असोज १९ गते पूर्वी युरोपेली मुलुक रोमानियासँग समझदारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस् :