हेटौंडाबाट लागूऔषधसहित दुई जना पक्राउ

Pakrau

मकवानपुर – मकवानपुर प्रहरीले लागूऔषधसहित गएराति दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ रातोमाटेबाट दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्वर ५ बस्ने अन्दाजी २२ वर्षीय सन्देश प्रजा र अन्दाजी ३४ वर्षीय युबराज प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

Advertisement:Pakrau

उनीहरुलाई प्रहरी कार्यालय पशुपतिनगर र प्रहरी चौकी रातोमाटेबाट खटिएको संयुक्त चेकिङ टोलीले पक्राउ गरेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।

प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, गएराति ११ बजेको समयमा हेटौंडाबाट बिरगंजतर्फ जाँदै गरेको ना ५३ प ३९३० नम्वरको मोटरसाइकललाई शंका लागि नियन्त्रणमा लिई चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुको मोबाईल मार्फत हेटौंडाबाट पथलैया तर्फ जाँदै गरेको बा १२ च ९७४२ नम्वरको पिकअप गाडीमा लागूऔषध गाँजा आउँदै गरेको जानकारी प्राप्त भएको थियो ।

सूचना प्राप्त हुनासाथ उक्त पिकअपलाई चेकजाँचको लागि रोक्न खोज्दा प्रहरीलाई देखी भित्री सडकखण्डतर्फ भाग्ने क्रममा बिक्रम चौक नजिक पिकअप गाडी छाडी चालक फरार भएको र सो गाडी चेकजाँच गर्दा गाडीको ढाला र क्याबिन मुनी ११ वटा पोकामा लागूऔषध गाँजा अन्दाजी ७० किलो बरामद भएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।

बरामद गाँजा, पिकअप गाडी, मोठरसाइकल र उनीहरु दुबै जनालाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।

प्रहरीले फरार पिकअप गाडी चालकको खोजीकार्य जारी राखेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् :