छोटो समयमै हिमालनजिक पुगिने किस्तपोखरी क्षेत्र प्रबद्र्धनमा स्थानीय क्लब

बेशीसहर, २६ असोज / छोटो समयमा हिमाल नजिक पुग्न सकिने लम्जुङ जिल्लाको पूर्वमा पर्ने प्राकृतिक सम्पदाले भरिपूर्ण किस्तपोखरी क्षेत्र प्रचार प्रसारको अभावमा ओझलमा परेको कारण स्थानीय भुम्लिचोक युवा क्लबले प्रबद्र्धनका गतिविधि बढाउँदै लगेको छ । क्लबले दुधपोखरी, लिपेडाँडा र भुम्लिचोक क्षेत्रमा प्रशस्त प्राकृतिक श्रोत सम्भावना भएर पनि ओझेल परेको भन्दै प्रबद्र्धनका गतिविधि बढाउदै लगेको हो ।

Advertisement:

विभिन्न सामाजिक सञ्जालहरुबाट समेत स्थानीय बासिन्दाहरुको रहन सहन, त्यहाँ रहेका प्रकृति र संस्कृति जस्ता श्रोतलाई प्रचार प्रसारमार्फत प्रबद्र्धन गरिदै आएको क्लबका अध्यक्ष राजकुमार गुरुङले जानकारी दिएका छन् । गुरुङका अनुसार त्यस क्षेत्रमा पर्यटकहरुको आवतजावत बढाउनका लागि क्लबले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न शुरु गरेको छ । प्रस्तावित दुधपोखरी–किस्तपोखरी ट्रेकिङ्ख रुटमा पर्ने लिपेडाँडालाई प्रबद्र्धन गर्न सक्ने हो भने त्यस क्षेत्रका बासिन्दाहरुको आर्यआर्जनमा समेत टेवा पुग्न सक्ने क्लब अध्यक्ष गुरुङ बताउँछन् ।

काठमाडौंदेखि ७ दिनमा नै हिमाल नजिकको यात्रा गरेर फर्कन सकिने छोटो पदमार्गको रुपमा विकास गर्न सकिने सम्भावना भएर पनि सरोकारवाला निकाय र अन्य पर्यटनसँग सम्बन्धित कुनै पनि संस्थाहरुले यस क्षेत्रको पर्यटन विकासमा चासो नदिएकोमा स्थानीय क्षेत्रका बासिन्दाहरु दुखित् देखिएको पनि उनी बताउँछन् । दुधपोखरी गाउँपालिकाको अधिकांश वडाहरु छोएर पुग्न सकिने उक्त पदमार्ग निर्माणका लागि स्थानीय पालिकाले समेत ध्यान दिन नसकेको क्लबका अध्यक्ष राजकुमार गुरुङको भनाई रहेको छ ।

बुद्ध हिमाल, हिमालचुली, ग्रेटलेक सर्किट ट्रेल नामाकरण दिएर गोरखा र लम्जुङ जिल्लाका ५ गाउँपालिकाका विभिन्न भूभाग समेटेर खोल्न लागिएको नयाँ पदमार्गको अन्वेषण भ्रमण गर्दा छोटो ट्रेकिङ रुटको सम्भावना भएको आफ्नो क्षेत्रलाई छुटाएको भन्दै भुम्लिचोक युवा क्लबले आफ्नै पहलमा उक्त ट्रेकिङ रुट कायम गर्न प्रयास गरिएको बताईएको छ । यद्यपी ट्रेकिङ्ग एजेन्सि एसोशिएसन अफ नेपाल (टान) अन्तर्गत गन्तव्य खोज अध्ययन तथा प्रबद्र्धन विभागले खोज अुसन्धान गरेको उक्त ट्रेल लामो दुरीको गन्तव्यका लागि उपयुक्त भए पनि छोटो दुरीको गन्तव्यको यात्रा गर्न चाहने पदयात्रुहरु भित्र्याउन दुधपोखरी गाउँपालिका हुदै जाने ट्रेकिङ रुट कायम गर्न क्लब कटिबद्ध रहेको छ ।

काठमाडौंबाट पहिलो दिन सवारी यात्राबाट जोर्नेबजार, दोश्रो दिन जोर्नेबजारबाट लिपेडाँडा, तेश्रो दिन लिपे डाँडाबाट नोट्हाचेसम्म, नोट्हाचेदेखि चिमाल्डाँडा चौथो दिन, चिमाल्डाँडादेखि किस्तपोखरी र दुःखपोखरी पाँचौं दिन, छैठौं दिन फर्किएर नोट्हाचे आईपुगिने र सातौं दिनमा नोट्हाचेबाट जोर्नेबजार हुदै काठमाडौं पुगिने छोटो पदमार्ग विकास गर्न आफूहरु पूर्ण रुपमा लागी परेको अध्यक्ष गुरुङ बताउँछन् । उक्त क्षेत्रमा भुम्लिचोक सामुदायिक होमस्टे र गौंडा सामुदायिक होमस्टेहरु सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस् :