दशैंका लागि घर फर्कने लर्को नयाँबसपार्कमा

काठमाडौँ, २८ असोज / नेपालीको महान् पर्व बडादसैँ सुरु भएसँगै गोँगबुस्थित नयाँबसपार्कमा घर जाने यात्रुहरुको भीड लागेको छ । सरकारले दसैँँका लागि अग्रिम टिकट बुकिङ खुला गरे पनि घटस्थापनादेखि नै अधिकांश विद्यालय, कलेज र सङ्घसंस्था बन्द भएपछि शनिबारदेखि नै घर जाने यात्रुहरुको भुइँचो लागेको हो ।

नयाँबसपार्क व्यवस्थापनको जिम्मा लिएको लोत्से बहुद्देश्यीय प्रालिका प्रवक्ता पङ्कज मल्लले हाल दैनिक २५ हजारभन्दा बढी यात्रु नयाँबसपार्कबाट बाहिरिन थालेको बताए । ‘लामो तथा मध्यम दूरीका सवारीसाधनमा अत्यधिक भीड लागेको छ, हामीले अहिले नयाँबसपार्कबाट बस छुट्ने समयसमेत अन्य समयकोभन्दा अगाडि सारेका छौ,’ उनले भने ।

Advertisement:

दसैँँका लागि हालसम्म भने ६० हजार यात्रुले अग्रिम टिकट काटिसकेको लोत्से बहुद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले जानकारी दिए । उनले दसैँँका समयमा सहजरुपमा यात्रुलाई गन्तव्यस्थलसम्म पु¥याउने ध्येय लोत्से बहुद्देश्यीय प्रालिले बसको व्यवस्थापन गरिरहेको उल्लेख गरे ।

सरकारले दसैँको यातायात व्यवस्थापनलाई सहज बनाउनका लागि असोज २६ गते देशैभरका सार्वजनिक सवारीसाधनमा रुट परमिटसमेत खुला गरिसकेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले अहिलेको अवस्था हेर्दा विगतका वर्षभन्दा धेरै यात्रुहरु बाहिरिने अनुमान रहेको बताए । यात्रुहरुलाई सहजरुपमा गन्तव्यस्थल जानका लागि महासङ्घले केही बससमेत थप गरेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस् :