अवैध लागूऔषधसहित १२ जना पक्राउ

Pakrau

मकवानपुर – प्रहरीले देशको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १२ जनालाई पक्राउ गरेको छ । प्रहरीले धनुषा, चितवन, झापा र बाँके जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले धनुषाको औरही गाउँपालिका–१ पौडेसर टोल बस्ने २० वर्षीय नितिश कुमार दास र बिदेह नगरपालिका–१ घर भएका २४ वर्षीय प्रिन्स सहनीलाई अवैध लागूऔषध खैरो हेरोईन पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई लागूऔषध खैरो हेरोईन ३ ग्राम ८९ मिलिग्रामसहित बिहीबार दिउँसो पक्राउ गरेको हो ।

Advertisement:Pakrau

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको संयुक्त टोलीले नितिश कुमारको घर तलासी गर्दा उक्त परिमाणको लागूऔषध बरामद भएपनि दुवै जनालाई पक्राउ गरेको हो ।

साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध भारत बिहार राज्य मधुवनी थाना बासोपट्टी ग्राम पोष्ट छतौनी–८ बस्ने २४ वर्षीय अशोक कुमार यादवले दिएको भन्ने खुल्न आएपछि अशोकलाई जनकपुर उपमहानगरपालिका–४ कदम चोकबाट प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी धनुषाको जनकपुर उपमहानगरपालिका–४ गंगासागरबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम ७ सय ६५ ट्याब्लेट र नाईट्रोसन १० ट्याब्लेटसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीले सोही उपमहानगरपालिका–१२ कुवा रामपुर बस्ने २० वर्षीय गुड्डु साहसहित तीन जनालाई बिहीबार बेलुकी पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय धनुषा र लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय जनकपुरबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यस्तै, चितवनको राप्ती नगरपालिका–१ लोथरबाट अवैध लागूऔषध खैरो हेरोईन करिब ६ ग्रामसहित प्रहरीले बिहीबार साँझ दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कालिका नगरपालिका–६ बस्ने २४ वर्षीय अजय कुमाल र सोही नगरपालिका–७ बस्ने २६ वर्षीय शिव श्रेष्ठ रहेका छन् । अस्थायी प्रहरी पोष्ट लोथरबाट खटिएको प्रहरीले वीरगंजबाट चितवनतर्फ आउँदै गरेको ना.५६ प २१०९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा ट्याङ्कीमा लुकाई राखेको उक्त पदार्थ फेला पारी मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।

त्यस्तै, प्रहरीले झापाको मेचिनगर नगरपालिका–६ मेचिपुलबाट अवैध लागूऔषध ब्राउनसुगर ७ ग्रामसहित २ जनालाई बिहीबार साँझ पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ईलाम चुलाचुली गाउँपालिका–५ बस्ने ३२ वर्षीय भुपाल तामाङ र २१ वर्षीय सिजन तामाङ रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले भारत पानीटंकीबाट नेपालतर्फ आउँदै गरेको को.१४ प ४७६१ नम्बको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यसैगरी, प्रहरीले बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–४ भानुभक्त चोकबाट अवैध लागूऔषध ब्राउनसुगर ८ ग्राम ५ सय मिलिग्रामसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले सोही उपमहानगरपालिका–१ बस्ने २२ वर्षीय बिनय बिकसहित २ जनालाई बिहीबार राति पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय नेपालगंज बाँके र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

ती सबै घटनाको विषयमा प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस् :