भूकम्पबाट जाजरकोटमा ३७ को मृत्यु, सयौँ घाइते, क्षतिको विवरण आउने क्रम जारी

जाजरकोट, १८ कात्तिक / गए राति गएको भूकम्पमा परी जाजरकोटमा मृत्यु हुनेको सङ्ख्या ३७ पुगेछ । जाजरकोटका प्रमूख जिल्ला अधिकारी सुरेश सुनारले दिएको जानकारीअनुसार भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या ३७ पुगेको हो ।
भूकम्पबाटा जाजरकोटछमा मात्रै सयौँको सङ्ख्यामा मानिसहरु घाइते भएका विवरण प्राप्त भईरहेका छन् । भूकम्पमा परी २७ महिला र १० पुरुषको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जाजरकोटले जनाएको छ । भूकम्पले जिल्लाका भेरी, नलगाड, कुशे, बारेकोट र छेडागाडमा क्षती पु¥याएको छ ।
भूकम्पका कारण घरहरु भत्किएको जानकारी प्राप्त भए लगत्तै उद्धारका लागि कर्णाली प्रदेश र प्रहरी कार्यालयबाट ४० र २० गरी ६० जनाको उद्धार टोली परिचालन गरिएको छ । जिल्लाका सबै सुरक्षा अङ्गहरु परिचालन भएको प्रजिअ सुनारले बताए । जाजरकोटका प्रहरी नायव उपरीक्षक सन्तोष रोकाका अनुसार भूकम्पमा परी नलगाड नगरपालिकाको उपप्रमुख सरिता सिंहको पनि मृत्यु भएको छ । भूकम्पका कारण यहाँ विद्युत सेवा समेत अवरुद्ध भएको छ ।
त्यसैगरी गए राति गएको उक्त भूकम्पमा परी रुकुम पश्चिमको सानी भेरी गाउँपालिका पाँच जनाको मृत्यु भएको छ । जाजरकोटको रामिडाडा केन्द्रविन्दु बनाएर गएको भूकम्पमा परी मृत्यु हुनेमा वडा नम्बर २ परियार टोलका महावीर दमाईकी छोरी १२ वर्षीया मनिषा परियार, वडा नम्बर १ चाईनाबगरका ३१ वर्षीय धनविर पुन, सोही वडाकै २८ वर्षिया चुम्निमा पुन, आठ वर्षका यमराज पुन र दुई वर्षे सितम पुन भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिए ।
रुकुम पश्चिममा भूकम्पमा परी हालसम्म १० जना घाइते भएको विवरण प्राप्त भएको छ । त्रिवेणी, बाफीकोट गाउँपालिका र मुसीकोट नगरपालिकामा मानवीय क्षती भएको विवरण हालसम्म आएको छैन । चौरजहारी नगरपालिकामा भूकम्पमा परी घाइते भएकाको उद्धार भइरहेको र मानवीय क्षती नभएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिए ।
जिल्लाको आठविसकोट नगरपालिका भने ठूलो मानवीय क्षती भएको बताइएको छ । तर प्रहरीले हालसम्म कति जनाको मृत्यु भयो भन्ने यकिन जानकारी नआएको बताएको छ । सडक सञ्चालनमा पनि समस्या भएकाले घाइतेको उद्धार कठिन भइरहेका अधिकारीहरुको भनाइ छ । रातिको समय भएकाले थप विवरण सङ्कलन गर्न कठिनाइ भइरहेको हो । शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटलाई केन्द्रविन्दु बनाएर छ दशमलव चार म्याग्निच्युडको भूकम्प गएको हो ।

Advertisement:

प्रतिक्रिया दिनुहोस् :