भूकम्प अपडेट : भेरी अस्पतालमा उपचाररत बिरामीको अवस्था सुधारोन्मुख र खतरामुक्त

(बाँके), १९ कात्तिक / बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा शनिबार राति थप छ जनालाई उपचारका लागि ल्याइएको छ ।

राति १२ः३० बजे भूकम्पमा परी घाइते भएका बिरामीलाई एम्बुलेन्सबाट उपचारका लागि ल्याइएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए । उनका अनुसार उपचारार्थ ल्याइएकामध्ये दुई जना भेरी नगरपालिका जाजरकोटका छन् भने चारजना सानिभेरी रुकुमका रहेका छन् । हालसम्म भेरी अस्पतालमा उपचारका लागि ल्याइएका घाइतेको सङ्ख्या ३९ पुगेको प्रजिअ पोखरेलले बताए ।

Advertisement:

प्रजिअ पोखरेलले उपचाररत घाइतेमध्ये ३७ जनाको विशेष सेवा प्रदायक अस्पताल बनाइएको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ भने एक जनाको कोहलपुर मेडिकल कलेजमा उपचार भरहेको बताए । कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेका एकजना घाइतेलाई पनि आजै भेरीमै ल्याउने तयारी गरिएको पनि उनले बताए ।

उपचाररत घाइतेमध्ये पाँच जनाको सफल अपरेसन शनिबार राति १२ बजे सम्ममा भइसकेको जानकारी प्रजिअ पोख्रेलले दिए । हाल भेरी अस्पातालमा ३७ र कोहलपुर मेडिकल अस्पतालमा एक गरी ३८ जना घाइते उपचाररत बिरामीको अवस्था सुधारोन्मुख तथा खतरामुक्त रहेको प्रजिअ पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस् :