मुगु सामूहिक हत्या : हत्या आफ्नै नातेदारले गरेको पुष्टी

काठमाडौँ, तातोखबर : मुगुमा भएको चार जनाको सामूहिक हत्यकाण्ड आफ्नै नातेदारबाट भएको पाइएको छ । हत्या प्रकरणमा पक्राउ परेका दुई जनाले पैसा र गरगहनाका लागि घटना घटाएका खुलेको मुगु प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा छायानाथ नगरपालिका ७ का ३१ वर्षीय काले भन्ने गोर्खराज शाही र छायानाथ ६ मन्दुका ३१ वर्षीय गोपालबहादुर बोहरा रहेका छन् ।

Advertisement:

शाहीलाई सुर्खेतको वीरेन्द्रनगर वडा नम्बर ५ पञ्चकोशी टोलस्थित जसकला बमको घरबाट पक्राउ गरिएको र बोहरालाई आफ्नै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।

पक्राउ परेका दुबै जनामाथि प्रहरीले जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर थप अनुसन्धान गरिरहेको छ। उनीहरू मृतक श्रीदेवी बोहोराका आफ्नै नातेदार रहेको प्रहरीले जनाएको छ।

राम्रो कमाई देखेपछि कतारमा रहेका श्रीदेवीका श्रीमानसँग आफूलाई पनि उनकै कम्पनीमा काम गर्न लैजानका लागि गोपालले प्रस्ताव राखेका तर उनले प्रस्ताव अस्वीकार गरेपछि रिसिइबी साँध्न गोर्खराजलाई समेत बोलाएर हत्या गरेको खुल्न आएको प्रहरी निरीक्षक प्रकाश सिंह कार्कीले थाहखबरलाई जानकारी दिए। त्यसपछि हत्या गरेर गरगहना तथा सुन लुटपाट गरेको उनीहरूले स्वीकार गरेका प्रहरीले जनाएको छ।

हत्यामा संलग्न एक जना मृतकका मामाका छोरा र एक जना सानीआमाका श्रीमान रहेका छन्। गोपाल एक पटक कतार गएर कमाइ राम्रो नभएपछि फर्केर आएका थिए। गत कात्तिक ८ गते राति मन्दुका २८ वर्षीया श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज, आठ वर्षीय छोरी अप्सरा र आठ महिनाका छोरा रहर बोहोराको धारिलो हतियार प्रहार हत्या भएको थियो।

हत्या भएको ९ दिनपछि आफन्तले शव बुझेर अन्तिम दाहासंस्कार गरेका थिए। हत्या आरोपी गोपाल बोहरा र गोर्खबहादुर शाहीले श्रीदेवी बोहोरालाई घरबाहिरबाट बोलाएर ढोका खोल्न लगाई घर भित्र प्रवेश गरेको र दुबै जना मिलेर खुकुरीले टाउको र घाँटीमा प्रहार गरी सामूहिक हत्या गरेका थिए।

त्यसपछि मोबाइल तथा सुनका गरगहना लुटपाट गरी लगेका पाइएको छ। त्यही गहना बेचेको एक लाख ७९ हजार नगदसमेत प्रहरीले बरामद गरेको छ।

प्रतिक्रिया दिनुहोस् :