गृहमन्त्रालयले देशको समृद्धिका लागि काम गरिरहेको प्रमको धारणा

काठमाडौं, ६ मङ्सिर / सामाजिक न्याय, सुशासन र समृद्धिका लागि गृह मन्त्रालयले सार्थक पहल गरिरहेको धारणा प्रधानमन्त्री पुष्पकमल दाहालले ब्यक्त गरेका छन् । गृह प्रशासनको नीतिगत सुधारबारे सुझाव पेश गर्न गठित अध्ययन समितिका अधिकारीहरुसँगको भेटघाटमा प्रम दाहालले यस्तो धारणा ब्यक्त गरेका हुन् ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायकाजी श्रेष्ठसहित अध्ययन समिति र उपसमितिका संयोजक तथा सदस्यहरुसँग आज भएको भेटघाटमा समितिबाट प्रशासन तथा सुरक्षा सुधारको आवश्यकता र प्राथमिकता किटेर सुझाव आउने आफ्नो अपेक्षा रहेको भन्दै प्रम दाहालले सुझावले सिङ्गो सरकारलाई नै प्राथमिकता निर्माणमा सहयोग पु¥याउने विश्वास ब्यक्त गरे ।

Advertisement:

उक्त भेटघाटमा गृह प्रशासनलाई सबल तथा सक्षम बनाउन, जनताको सुरक्षाको निश्चितता गर्न र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन सुधारका क्षेत्र तथा कार्ययोजनाबारे छलफल भएको साथै सरकार गठन हुँदा संसद्को बैठकमा प्रधानमन्त्री प्रचण्डले सरकारका प्राथमिकताको चर्चा गरेको र सोही उद्देश्य पूरा गर्न सुधारको पहल गरिएको उपप्रधानमन्त्री श्रेष्ठले जानकारी दिए ।

एउटा समस्या सुधारेर अर्को समस्यामा हात हाल्नेभन्दा पनि हरेक समस्याको सुधारमा उत्तिकै केन्द्रित हुनका लागि गृह मन्त्रालय र सबै मन्त्रालयले ध्यान दिनुपर्नेमा अध्ययन समितिका संयोजक पूर्वमुख्यसचिव लीलामणि पौडेलले जोड दिए । उनले समिति र उपसमितिहरुमा प्रशासन सुधारका पक्षमा योगदान दिएका व्यक्तित्वहरू संयोजक र सदस्य रहेको र संयोजक एवं सदस्यहरूले तलब, भत्ता नलिएरै स्वयम्सेवकका रुपमा काम गर्ने बताए ।

नेपाल सरकारका पूर्वमूख्य सचिव पौडेलले अध्ययन वा सुझाव समितिप्रति मानिसमा गहिरो अविश्वास रहेको तर आफूहरु स्वयम्सेवीका रुपमा खट्ने भन्दै आफ्ना अनुभव र नयाँ प्राथमिकताबारे निष्कर्ष दिने बताए । उनले अगाडि थपे “हामीलाई जुन विश्वास गर्नुभएको छ, प्रतिवेदन कार्यान्वयन हुने अपेक्षासमेत गर्दछौँ ।”

गृहको समग्र प्रशासन, सेवा तथा सुरक्षा सुधार अध्ययनका लागि मूल समिति र नेपाल प्रहरी, सशस्त्र प्रहरी, अध्यागमन व्यवस्थापन, कारागार व्यवस्थापन तथा स्थानीय प्रशासन र सेवा प्रवाहसहित पाँच विषयगत उपसमितिहरू बनेका छन् ।

प्रतिक्रिया दिनुहोस् :