प्रधानमन्त्री प्रचण्ड आजदेखि सिंहदरवारको नयाँ कार्यालयमा
काठमाडौं, ६ मङ्सिर / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिंहदरवारको रेट्रो फिटिङ गरेर बनाईएको नयाँ कार्यालयमा सरेका छन् । प्रम दाहाल ०७२ सालमा गएको महाभूकम्पबाट भत्किएको संरचनालाई रेट्रो फिटिङ गरेर निर्माण गरिएको नयाँ कार्यालयमा सरेका हुन् ।
सिंहदरबारको पश्चिमतर्फ रहेको रेट्रोफिटिङ गरी बनाइएको कार्यालयमा सरेपश्चात आफ्नो कुर्सीमा आसनग्रहण गर्दै प्रम दाहालले नयाँ सुरुवातले नयाँ गति पक्रने आशा व्यक्त गरे । सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै प्रधानमन्त्री दाहालले १२० वर्ष पुरानो भवनको मूल संरचनालाई जस्ताको तस्तै राखेर भूकम्पबाट भएको क्षतिको रेट्रोफिटिङ पूरा भएको बताए । सो अवसरमा उनले अब नयाँ उत्साह र आत्मविश्वासको साथ अघि बढ्नुपर्ने धारणा व्यक्त गरे ।
कामको प्रकृति र गुणपनि अब नयाँ ढङ्गले जाने सङ्कल्प रहेको आफूलाई महशुस भएको भन्दै उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मात्रै नसारिएको जानकारी दिए । उनले भने ‘पुरानो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गुम्म परेर बस्नुपरेको थियो, अब ताजा भएर काम गर्न पाएको महशुस भयो । नयाँ भवन शुभारम्भले नयाँ गति पक्रिने र एकता अझ बलियो बन्ने कुरामा म विश्वस्त छु ।’
सो अवसरमा शहरी विकासमन्त्री सीता गुरुङले नयाँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रवलीकरण गर्ने काम लगभग पूरा भएको र पहिलो चरणको आयोजनाको ठेक्काअनुसार ४२ करोड हाराहारीको रकममा प्रवलीकरण गर्ने काम सम्पन्न भएको जानकारी दिईन् । मन्त्री गुरुङले २०७२ सालको भूकम्पले क्षतविक्षत भएको संरचनाको प्रवलीकरण गर्ने काम लगभग पूरा भएको र इन्टेरियरको संरचना निर्माणका लागि अर्को आयोजनाको ठेक्का अघि बढाएकाले सम्पन्न नभएको देखिएपछि ४२ करोड हाराहारीको रकममा प्रवलीकरण भएको बताईन् ।