अपाङ्ग दिवसमा साताव्यापी कार्यक्रम

हेटौंडा– ३२ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा हेटौंडामा साताव्यापी कार्यक्रम सुरु भएको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेशले बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय र हेटौंडा उपमहानगरपालिकासँगको सहकार्यमा विभिन्न कार्यक्रमको आयोजना गर्दैछ ।

सोमबार पत्रकार सम्मेलनमार्फत महासंघले साताव्यापी कार्यक्रम सुरु भएको जनाएको छ । साताव्यापी कार्यक्रम मंसिर १७ गतेसम्म चल्ने महासंघ बागमती प्रदेश अध्यक्ष अश्विन लम्सालले बताए । ‘दीगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धताः अपांगता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको एक्यबद्धता’ भन्ने नाराको साथ मनाउन लागिएको दिवसको अवसरमा विभिन्न अभिमुखीकरण, विचार गोष्ठीदेखि रक्तदान कार्यक्रमसमेत राखिएको छ ।
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत ९ वटा कार्यक्रम तय भएको छ । पहिलो दिन पत्रकार सम्मेलनमार्फत सुरु भएको कार्यक्रमअन्तर्गत दोस्रो दिन ब्यानरद्वारा हेटौंडाको बसपार्क र बुद्धचोकमा प्रचार प्रसार गर्ने तय गरिएको छ । त्यस्तै अपाङ्गता अधिकारको सवालमा विधमान कानुन कार्यान्वयनको अवस्था विषयमा रेडियो / टेलिभिजन सम्वाद, अपाङ्गता भएका व्यक्तिहरुको राजनैतिक अधिकारको सवालमा राजनैतिक दलहरूसँग विचार गोष्ठी, रक्तदान कार्यक्रम र ब्लड प्रेसर जाँच कार्यक्रम पनि राखिएको छ ।

Advertisement:

त्यस्तै अपांगता भएका विद्यार्थीहरु बीच सिर्जनात्मक कार्यक्रम , युएनसीआरपीडी र एसडीजीको अन्तर सम्बन्ध विषयमा अभिमुखीकरण, दीप प्रज्वलन र डिसेम्बर ३ अर्थात अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको दिन र्याली सहित कोणसभा र पुरस्कार वितरण कार्यक्रम राखिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । कार्यक्रमको अन्तिम दिन बागमती प्रदेश प्रमुख, मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीले शुभकामना मन्तव्य राख्ने कार्यक्रम तय गरिएको महासंघ बागमती प्रदेश अध्यक्ष लम्सालले बताए ।

पत्रकार सम्मेलनमा बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख अमृत अधिकारी, मन्त्रालयकी अधिकृत चन्दाकुमार व्यन्जनकार, शाखा अधिकृत लक्ष्मण पुडासैनीलगायतको सहभागिता रहेको थियो । जनगणना २०७८ को तथ्यांकअनुसार बागमती प्रदेशमा अपाङ्गता भएका व्यक्तिको संख्या एक लाख २४ हजार एक सय जना रहेको छ ।

प्रतिक्रिया दिनुहोस् :