आज हुदैछ एनसेलको ५७ अर्बको मुद्दामाथिको सुनुवाई

काठमाडौं, १९ मंसिर / सरकारका विरुद्ध एनसेलको पुँजीगत करिब ५७ अर्ब रुपैयाको लाभकरसम्बन्धी दायर भएको मुद्दामा आज सर्वोच्च अदालतमा सुनवाई हुने तालिका रहेको छ । आफ्नो सबै शेयर बिक्री गरेर बाहिरिएको मलेसियन कम्पनी आजियटा एनसेलको उक्त मुद्दामा आज सुनवाई हुन लागेको हो ।

ठूला करदाताको कार्यालयले एनसेलमाथि करिब ५७ अर्ब रुपैयाँ थप कर निर्धारण गरेपछि एनसेल सर्वोच्च अदालत गएको थियो । सर्वोच्चको पेसीभन्दा चार दिनअगाडि आजियटा एनसेलको शेयर बेचेर नेपाल छोडे पनि उक्त मुद्दामाथि सर्वोच्च अदालतबाट फैसला हुन बाँकी छ । नेपालको आयकर ऐनको दफा ५७ बमोजिम थप ५७ अर्ब रुपैयाँ कर निर्धारण गरिएकोमा त्यो खारेज हुनुपर्ने माग एनसेलले गरेको थियो ।

Advertisement:

हालसम्म पूँजीगत लाभकरका रुपमा आफूले तिरेको ४७ अर्ब ९९ लाख रुपैयाँ फिर्ता पाउनुपर्ने माग गर्दै इक्सिडमा आजियटाले निवेदन दिएको भएपनि लगानी विवाद समाधानसम्वन्धी अन्तर्राष्ट्रिय केन्द्र (इक्सिड)द्वारा कम्पनीको मागदाबीलाई अस्वीकार गर्दै गत जेठमा फैसला आएको र यसबाट नेपाल सरकारको ठूलो धनराशी जोगिएको थियो । एनसेलको ८० प्रतिशत शेयर आजियटाले २०७२ साल चैतमा खरिद गरेको थियो । करिब १ खर्ब ४३ अर्ब रुपैयाँभन्दा बढीमा स्वीडिस दूरसञ्चार जायन्ट टेलियासोनेरासँग खरिद गरिएको उक्त परिमाणको शेयर बिक्री हुँदा कानूनबमोजिम सरकारलाई पूँजीगत लाभकर नतिरिएको भनेर सुरु भएको विवाद टुङ्गो नलाग्दै आजियटा नेपालबाट बाहिरनुलाई अर्थपूर्ण रुपमा हेरिदै आएको छ ।

करिब ४७ अर्ब रुपैयाँ पूँजीगत लाभकरका रुपमा तिरिसक्दा पनि मुद्दाबाट उम्किन नसकेपछि आजियटा निराश भएर हिँडेको चर्चा जानकारहरुले गरिरहेका छन् । ठूला करदाताको कार्यालयले कम्पनीलाई थप ५७ अर्ब ९० करोड रुपैयाँ कर निर्धारण गरेपछि आजियटाले अन्तर्राष्ट्रिय मध्यस्थकर्ताहरुसँग पनि गुहार मागेको भने इक्सिडबाट पनि आफ्नो पक्षमा फैसला नआएपछि सर्वोच्चको फैसलाआउनुअघि नै एजियटाले सस्तो मूल्यमा एनसेल बिक्री गरेको बताईन्छ ।

प्रतिक्रिया दिनुहोस् :