हेटौंडामा खेलकुद र व्यापार महोत्सव सुरुः दैनिक खेलकुद र मनोरञ्जनका कार्यक्रम हुने

हेटौंडा– हेटौंडामा बिहीबारबाट खेलकुद तथा व्यापार महोत्सव सुरु भएको छ । खेलकुदका साथै व्यापार प्रवद्र्धन गर्ने उद्देश्यका साथ हेटौंडा–१० स्थित टिसिएन चौरमा सुरु भएको महोत्सवको बागमती प्रदेशकी वन तथा वातावरण मन्त्री मसिना खड्काले उद्घाटन गरेकी हुन् ।
पुस १७ गतेसम्म चल्ने महोत्सवमा दैनिक विभिन्न खेलकुद प्रतियोगिताका साथ दैनिक राष्ट्रिय कलाकारद्वारा मनोरञ्जन प्रदान गरिने आयोजक मकवानपुर जिल्ला खेलकुद विकास समितिले जनाएको छ । प्रतियोगिता अवधिभर १२ वटा विधामा विभिन्न खेलकुद प्रतियोगिता राखिएको खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष भेष खड्कीले जानकारी दिए ।

महोत्सवमा खेलकुदको प्रतिस्पर्धासँगै कृषि, पर्यटन, हस्तकला, खेलकुद सामग्री, धार्मिक, सामुदायिक, स्वास्थ्य, जनचेतनामुलक, खानाखाजाका गरी करिब २ सयवटाभन्दा बढी स्टल राखिएका छन् । बाल उद्दानका साथ मनोरञ्जनात्मक खेलहरु पनि राखिएको छ । महोत्सवमा खुला नृत्य प्रतियोगिता र लाइभ दोहोरी कार्यक्रमसमेत राखिएको जनाइएको छ ।

Advertisement:

महोत्सवमा एथ्लेटिक्स, ब्याड्मिन्टन र तेक्वान्दोको जिल्लास्तरीय प्रतियोगिता, अन्तर जिल्ला महिला फुटबल, तेक्वान्दोको राष्ट्रिय खेल, क्युकोसिन र आइटिएफ, उसुको राष्ट्रिय खेल, हक्की, महिला राष्ट्रिय भलिबल, कबड्डी र महिला तथा पुरुषको रेस्लिङ हुने समितिका अध्यक्ष खड्कीले बताए । उद्घाटनको दिन एथ्लेटिक्स प्रतियोगिता भएको छ भने ६ गते शुक्रबार जिल्लास्तरीय व्याड्मिन्टन प्रतियोगिता हुनेछ ।

पुस ७ गते जिल्लास्तरीय तेक्वान्दो, ८ गतेबाट अन्तर जिल्ला महिला फुटबल, ९ गते राष्ट्रिय तेक्वान्दो, १० गते क्युकोसिन र आइटिएफ, ११ र १२ गते राष्ट्रिय उसु, १२, १३ र १४ गते पिप्ले क्याम्पा रंगशालामा हक्की, १३, १४, १५ र १६ गते महिला राष्ट्रिय भलिबल प्रतियोगिता, १३ गते महिला र पुरुषको रेस्लिङ तथा १७ गते कबड्डी प्रतियोगिता तय गरिएको छ । प्रतियोगितामा विजेता तथा उपविजेतालाई ट्रफी मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ ।

खेलकुद महोत्सवबाट करिब २५ लाख रुपैयाँ बचत गर्ने खेलकुद विकास समितिले लक्ष्य राखेको छ । महोत्सवबाट प्राप्त हुने रकमबाट खेल र खेलाडीको वृत्ति विकासमा लगाउने योजना रहेको खेलकुद विकास समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् :