डेढ वर्षभित्र देशलाई पूर्ण रुपमा विद्युतीकरण गर्ने: प्रचण्ड

Prachanda-PM-tattatokhabar

तातोखबर, काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्ण रुपमा विद्युतीकरण घोषणा गर्ने गरी सम्पूर्ण तयारी भइसकेको बताएका छन् ।

आज सुनसरीस्थित इनरुवा सबस्टेसन उद्घाटन कार्यक्रममा उनले यसलाई सुनौलो दिनको संज्ञा दिँदै उक्त दिन छिट्टै आउने दाबी गरेका हुन् ।  उनले भने, ‘नेपाल सरकारको दिशानिर्देश, नेपाल विद्युत प्राधिकरणको योजना र नेपाली जनताको साथ र सहयोगले नेपालको ऊर्जा क्षेत्रले फड्को मारिरहेको छ । घर र बस्तीमा बत्ती बाल्न मात्र नभएर समृद्धि र देशलाई नै उज्यालो बनाउन विद्युत् उत्पादन, प्रसारण र वितरण गर्ने योजनाका साथ अहिले उत्साहजनक कामहरू भइरहेका छन् ।’

Advertisement:Prachanda-PM-tattatokhabar

प्रधानमन्त्री दाहालले विगतमा आफ्नै नेतृत्वको सरकारले जनतालाई अँध्यारो लोडसेडिङको कहालिलाग्दो युगबाट मुक्त गरी उज्यालो नेपालको यात्रा अगाडि बढाएको बताए ।

उनले देशभित्र उत्पादित विद्युत् यहीँ खपत गर्नका लागि सरकारले केही दिन अघिमात्र विद्युत् खपतवृद्धिसम्बन्धी कार्यायोजना मन्त्रिपरिषद्‍बाट पारित गरेको स्पष्ट पारे ।

प्रधानमन्त्री दाहालले नदीबाट विद्युत् उत्पादन गर्ने र नेपालका सहर–सहर र गाउँगाउँमा पुर्‍याउने मात्र नभई उत्पादित बिजुली छिमेकमा बेच्ने र विदेशी मुद्रा आर्जन गर्ने अवसर सिर्जना भइसकेको बताए ।

करिब ४ हजार मेगावाट विद्युत् प्रवाह गर्न सक्ने सबस्टेसनको उद्घाटन गरिएको हो। सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत् प्रवाहका अतिरिक्त स्थानीय रूपमा आपूर्ति समेत गरिने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् :