स्वदेशी श्रम र सीपलाई माया गर्न आग्रह गर्दै कलाकार उत्तम केसी

काठमाडौं, १८ पौष / देशबाट सबैप्रकारका मौलिक कला र संस्कृति लोप हुने अवस्था आएको भन्दै हास्य कलाकार उत्तम केसीले चिन्ता ब्यक्त गरेका छन् । नेपाली रङ्गमञ्चमा चार दशकभन्दा बढी समय काम गरेका कलाकार केसीले तातोखबरप्रतिनिधिसँग कुरागर्दै यस्तो चिन्ता ब्यक्त गरेका हुन् ।

नेपालमा विदेशी सेवा तथा उत्पादनको बजार बृद्धि हुदै जादा नेपाली सीप र श्रमबाट निर्माण एव उत्पादन हुने सेवा तथा वस्तुहरु हराउने चरणमा पुगेको र अब सङ्ग्रहालयमा मात्रै देख्न सकिने अवस्था आएकोले सीमित श्रोत र साधनलाई स्वदेशी सीप र श्रमबाट उत्पादन गरी बजार पुनस्र्थापना गर्न जोड दिन समाजका अगुवाहरुले आवश्यक भूमिका निर्वाह गर्नु पर्नेमा कलाकार केसीले जोड दिएका छन् ।

Advertisement:

चलचित्रलाई उद्योगको मान्यता समेत सरकारले नदिएकोमा आपत्ति जनाउँदै नेपालको चलचित्र व्यवसाय आज जहाँ आईपुगेको छ त्यो विसुद्ध रङ्गकर्मीहरुको प्रयासले मात्रै यहाँसम्म आईपुगेको र सरकारले कुनै आड भरोषा नदिएकै कारणले विश्वका ठूला लगानीमा निर्माण गरी दर्शकहरुमाझ ल्याइने चलचित्रहरुसँग प्रतिष्पर्धा गर्न नेपाली सिनेमा कमजोर सावित भएको पनि उनी बताउछन् । पछिल्लो समयमा चलचित्र हेर्न दर्शकहरु हलसम्म जाने पद्दति फेरिदै गएको र ठूलो–सानो पर्दाको चलचित्र भनेर वर्गीकरण गर्न समेत नहुने समय आएकोमा उनले चलचित्र हेर्ने परम्परा तोडिएको दावी गरेका छन् ।

प्रविधिको विकास र सामाजिक सञ्जालको प्रभाव बढेसँगै चलचित्र निर्माण र प्रदर्शनमा आमूल परिवर्तन आएकोले चलचित्र निर्माण र प्रदर्शनमा विकास भएको देखिए पनि यसको व्यावसायिक पक्ष भने अन्यौलमा पर्दै गएको उनको बुझाई छ । आफू अभिनित चलचित्र ‘नाई नभन्नु ल–६’ प्रदर्शन व्यावसायिक रुपमा खाशै सफल बन्न नसकेको र ‘नाई नभन्नु ल–७’ लाई दर्शकहरुको मन जित्ने गरी यसको निर्माण गर्ने तयारीमा जुटेका कलाकार उत्तम केसीले विभिन्न टेलिचलचित्र, नाटक, म्युजिक भिडियो तथा सडक नाटकहरुमा अभिनय गर्दै आईरहेका छन् ।

नेपाली सिने उद्योगमा निराशा बढेर गएको विषयमा चर्चा हुने गरेको बताउने चलचित्रकर्मीहरु लाई के भन्नु हुन्छ ? भनेर राखिएको जिज्ञाषामा कलाकार उत्तम केसी भन्छन् ‘पछिल्लो समयमा विकास भएको प्रविधि र प्रविधिको प्रयोगलाई हेर्ने हो भने चलचित्र क्षेत्रमा अझ बढी सम्भावना देखा परेको छ । निराश हुने स्थिति हटेर गएको देख्छु म । चलचित्र क्षेत्रमा प्रवेश गर्ने वितिक्कै मालामाल बन्ने महत्वाकांक्षा बोकेर यस क्षेत्रमा आउने चलचित्रकर्मीहरुले मात्रै निराशा देख्ने र चलचित्र क्षेत्रमा काम गर्दै आएका चलचित्र कर्मीहरुलाई हतोत्साह गर्ने काम गरेका छन् । त्यस्तो जमातको पछि लाग्नु हुदैन । यस क्षेत्रमा दीगो रुपमा काम गर्ने अठोट लिएर आएका जुनसुकै चलचित्र कर्मीहरुले यहि क्षेत्रबाट आफ्नो व्यवसाय सञ्चालन गरिरहेकै छन् ।’

पछिल्लो समयमा चलचित्र क्षेत्रमा काम गर्ने चलचित्र कर्मीहरुले व्यावहारिक र शैद्धान्तिक कोर्षसमेत अध्ययन गरेर यस क्षेत्रमा काम गर्न थालेकोमा यस्ता अध्ययनले चलचित्र क्षेत्रको भविष्यलाई समेत सहयोग पुर्याउन सक्ने कलाकार उत्तम केसीको अनुमान छ । ‘दर्शकहरुको चाहना र त्यतिबेलाको प्रविधिमा आधारित रहेर स्वअध्ययनबाट मात्रै हामीले चलचित्र क्षेत्रमा काम गर्नु पथ्र्यो । यस्ता अहिलेको जस्तो रङ्गकर्म पाठ्यक्रम थिएनन् । तैपनि यो नेपाली चलचित्रको विकासक्रमलाई अहिलेको अवस्थासम्म ल्याईएको छ । भविष्यमा यो चलचित्र विकासले अर्को रुप लिन नसक्ला भन्न सकिदैन ।’

नेपाली नाट्य कलालाई आफ्नो कलाकारिता बनाएर रङ्गमञ्चमा उदाएका हास्य कलाकार उत्तम केसी पुन नाट्य कलाले दर्शक आकर्षित गर्ने ठान्छन् । नाट्य कला प्रदर्शन बढ्न शुरु गरेको र नाट्य कला प्रदर्शन गृहहरु समेत राम्ररी सञ्चालनमा आउन थालेकोमा यसले रङ्कर्मीहरुलाई हौसला थपेको उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस् :