भैरहवामा नागरिक अभिनन्दन कार्यक्रमको आघिल्लो दिन ज्ञानेन्द्र शाह राप्रपा नेताहरु संग

तातोखबर, बुटवल: यसै हप्ता रुपन्देही आएका पूर्व राजा ज्ञानेन्द्र शाहले आफ्नो सक्रियतालाई बढाएका छन् । २ साताको समय लिएर यहाँका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको भ्रमणमा निस्किएका पूर्व राजा ज्ञानेन्द्रले रुपन्देहीमा आएर भेटघाट तथा गतिविधिलाई सक्रिय बनाएका हुन् ।

यसैबीच बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहितले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भैरहवा आएका भेट गरेका छन् । भेटका लागि लिङ्देन र मिश्रसहित राप्रपा महामन्त्री धवलशमशेर जबरा, सांसद दीपक सिंह सहभागी थिए । उक्त भेटका क्रममा पूर्वराजा शाहले आफूले ऐतिहासिक संस्थाको प्रतिनिधित्व गर्दै आएको बताएका छन् ।

Advertisement:

उक्त भेटपछिको तस्बिर राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्रले बुधबार सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरेका छन् । वरिष्ठ उपाध्यक्ष मिश्रका अनुसार पूर्वराजा शाहले उक्त भेटका क्रममा आफ्नो काम सबैलाई एकताको सूत्रमा बाँध्ने भएको सन्देश पनि दिएका छन् । ‘हामी सबैले धेरै देख्यौँ/बुझ्यौँ। म ऐतिहासिक संस्थाको प्रतिनिधित्व गर्छु’, उनले भने, ‘मेरो काम सबैलाई एकताको सूत्रमा बाँध्ने हो। सबै नेपाली मेरा लागि बराबर छन् ।’

पूर्वराजा शाह गत पुस ८ गते दुई साताका लागि भैरहवा आईपुगेका हुन् । अनौपचारिक भेटघाटमा व्यस्त शाहाले विभिन्न व्यक्तिहरूलाई सामूहिक र एक्लाएक्लै भेटेका छन् । त्यहीक्रममा राप्रपा नेतृत्वसँग पनि उनले संवाद गरेका हुन् ।गत शनिबार उनले शिवराज नगरपालिका–३ खरेन्द्रपुर चोक कपलवस्तुमा पृथ्वीनारायण शाहको शालिक अनावरण गरेका थिए । नेपालमै पहिलो पटक पृथ्वीनारायण शाहले जंगी घोडा चढेको शालिक शिवराज नगरपालिकाले निर्माण गरेको छ ।

यसैगरी भोली बिहीबार भैरहवामा पूर्व राजाको नागरिक अभिनन्दन कार्यक्रम छ । नागरिक अभिनन्दन समितिका संयोजक डा. रामप्रसाद बस्यालका अनुसार पूर्व राजालाई भैरहवाको गल्लामण्डीमा अभिनन्दन गर्ने तयारी भएको हो। पूर्व राजा शाह श्रीमती कोमल र नाति हृदयेन्द्रसहित भैरहवामा छन् । उनी भैरहवास्थित पाँचतारे होटल सिद्धार्थ भिलासामा बसेका छन् ।

प्रतिक्रिया दिनुहोस् :