मुन्दुमविद् इमानसिंह चेम्जङको जन्मजयन्तिको अवसरमा रक्तदान कार्यक्रम

काठमाडौं, २१ पौष / “रक्तदान जीवन दान’ भन्ने मुल नाराका साथ इतिहासकार स्वर्गीय इमान सिंङ चेम्जङको १ सय २१ आंै जन्मजयन्तिको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । किराँत याक्थुम चुम्लुङ जिल्ला कार्यसमिति काठमाडौंले आज रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

Advertisement:

हरेक वर्ष नियमित कार्यक्रमका रुपमा सञ्चालन गरिने कार्यक्रमअनुरुप काठमाडौंंको धुम्वाराहीस्थित शङ्खपार्कमा आज आयोजित उक्त रक्तदान कार्यक्रममा ४३ जनाले रक्तदान गरेको संस्थाका सचिव टेकबहादुर काम्वाङले जानकारी दिएका छन् । उनका अनुसार झण्डै १ सय ५० भन्दा बढी इच्छुक रक्तदाताहरुले रक्तदान गर्न चाहेको भएपनि चिकित्सकहरुले सबैलाई योग्य नठहराएपछि जम्मा ४३ रक्तदाताहरुले मात्रै रक्तदान गर्न पाए ।

किराँत इतिहाँसकार एवं मुन्दुमविद् स्वर्गीय इमानसिंह चेम्जङले राष्ट्रलाई पुर्याएको योगदानको कदर गर्दै सामाजिक कार्यका रुपमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको किरात याक्थुम चुम्लुङ काठमाडौं कार्यसमितिले अघिल्ला वर्षहरुमा पनि उपत्यकाभित्रका सार्वजनिक स्थलहरुमा यस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको सचिव काम्वाङले जानकारी दिए ।

विक्रम् सम्बत २०५७ सालदेखि नै मुन्दुमविद् एवं किराती इतिहासकार स्वर्गीय इमानसिंह चेम्जङको जन्मजन्ति मनाउन थालिएको थियो । यस्ता कार्यक्रमहरुबाट इतिहासका गौरवशाली ब्यक्तित्वहरुको योगदानको कदर हुने भएकोले निरन्तर रुपमा जन्मजयन्ति मनाउने गरिएको किरात याक्थुम चुम्लुङ काठमाडौं कार्यसमितिका सचिव टेकबहादुर काम्वाङले बताए ।

प्रतिक्रिया दिनुहोस् :