टिआरसी विधेयक आगामी अधिवेशनको पहिलो दिन नै हाउसमा प्रस्तुत गर्नुपर्छ

Ramesh-lekhak-nepali-congress-tatokhabar-tato-khabar

तातोखबर, काठमाडौँ / नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले आगामी अधिवेशनको पहिलो दिन नै संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संसद्‌मा पेश गर्नुपर्ने बताएका छन्।​

बिहीवार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले पीडितको कुरा पनि सुनिसकेकाले पीडितमैत्री हुनेगरी विधेयक संसद्‌मा प्रस्तुत गर्नुपर्ने बताए। उनले पीडितहरूले अब धैर्य गर्न नसकिने भनिरहेकाले संसद् सञ्चालन हुनुअघि नै सहमति जुटाएर संसद्‌मा पेश गर्न आवश्यक रहेको बताएका छन् ।

Advertisement:Ramesh-lekhak-nepali-congress-tatokhabar-tato-khabar

उनले पीडितहरूले टिआरसी विधेयकमा शब्दमा खेलेर राजनीति नगर्न चेतावनी दिइरहेका र विश्वमञ्चले पनि बारम्बार जिज्ञासा राख्ने गरेकाले यो विषयलाई चाँडै टुंगो लगाउनुपर्ने बताए। उनले सहमति नजुटे प्रक्रियामा जानुपर्ने र प्रक्रियामा जानका लागि कुनै डर मान्नुपर्ने अवस्था नरहेको बताए।

उनले भने, ‘आउने अधिवेशनको पहिलो दिनमा यो विधेयक सभापतिले प्रतिवेदनसाथ हाउसमा प्रस्तुत गर्नुपर्छ। पीडितहरूले हामी अब संयमित हुन सक्दैनौँ, धैर्य हुन सक्दैन । अब तपाईंहरूले यसलाई पास गर्नुस् भन्नुभएको छ। अस्ति त धेरै ज्यादा शब्दमा खेलेर राजनीति गर्नुभयो भने ठिक हुँदैन, हामी आन्दोलन गर्छौं भन्नुभयो। इन्टरनेशनल कम्युनिटीले भेट भयो कि ट्रान्जिसनल जस्टिस कहिले टुंग्याउने भन्छ, झूटो कति बोल्नु  ? १७ वर्षसम्म भएन। कुनै पनि विधेयकलाई अनावश्यक रोकिरहने कुरा राम्रो हुँदैन। प्रक्रियामा गएर भए पनि टुंग्याउनुपर्छ ।’

प्रमुख सचेतक लेखकले कुनै पनि विधेयकलाई अनावश्यक रोकिरहनु उचित नहुने बताए ।

प्रतिक्रिया दिनुहोस् :