चित्लाङ जिप दुर्घटना: मृत्यु हुने ४ जना एकै परिवारका

तातोखबर, काठमाडौं / थानकोट–चित्लाङ सडक खण्डमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ।

उक्त दुर्घटनामा मृत्यु भएका चारै जनाको परिचय खुलेको छ।

Advertisement:

उनीहरू सबै एकै परिवारका रहेका छन् । मृत्यु हुनेमा काठमाडौं महानगरपालिका ३० बस्ने ६७ वर्षीय ओमकार निधि तिवारी, उनकी श्रीमती ६४ वर्षीया कल्पना तिवारी, काठमाडौं महानगरपालिका २ लाजिम्पाट बस्ने तिवारी दम्पतीका ज्वाईं ३८ वर्षीय डा.महेशकुमार गौतम र उनका छोरा ४ वर्षीया प्रियान्स गौतमको मृत्यु भएको हो।

जिपका चालक डा. गौतम बालरोग विशेषज्ञ हुन्। डा. गौतमकी श्रीमती डा. सृष्टि तिवारी गौतम सकुशल छिन् भने उनको ६ वर्षकी छोरी स्मारिका गौतमको अवस्था गम्भीर रहेको छ।

उनको टाउकोमा चोट लागेको र बोल्न नसक्ने अवस्थामा रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुंगोलले जानकारी दिए। उनको बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ।

६ जना सवार प्र-३-०१-२३ च ६९८५ नम्बरको जिप शनिबार दिउँसो २ बजे दुर्घटनामा परेको हो । काठमाडौंबाट चित्लाङ जाँदै गर्दा चन्द्रागिरि नगरपालिका ४ पानीघाटभन्दा माथि हिमचुली सेतो पहरा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् :