चौकीटोल लालझाडी जोड्ने पक्की पुल निर्माण कार्यमा ढिलासुस्ती

मन्जु मैनाली

हेटाैंडा- चौकीटोल लालझाडी जोड्ने पक्की पुल निर्माण कार्यमा ढिलासुस्ती भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ स्थित राप्ती खोलाको चौकिटोल  लालझाडी जोड्ने पुलको निर्माण कार्य  करिब २ वर्ष अगाडि  सुरु गरिएता पनि अपेक्षाकृत काम भएकाे छैन ।

Advertisement:

उपमहानगरपालिकाको वडा न १ मा वर्षौंदेखि  रहेको तुइन विस्थापित गरेर पक्की पुल निर्माण गर्न २ वर्षअघि दिइएको ठेक्का  समय अवधि  सक्किइसक्दा पनि  दुईवटा  खाल्डो खनेर एउटा तट उठाउने  बाहेक काम भएको छैन । पुल निर्माण गर्ने भनी  तुइन  विस्थापित गरेतापनि  पुल बनाउने काम  भने अलपत्रमा छोडियो  । स्थानीयहरू निकै  समस्या झेल्दै आइरहेका छन् ।

लालझाडी – चौकीटोल जोड्ने पक्की पुल निर्माणमा ढिलाई हुँदा स्थानीयहरू अब यो पुल बन्दैन भनी निराश भएका छन् ।
लालझाडी – चौकीटोल जोड्ने पक्की पुल निर्माणका लागि बागमती प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत भौतिक पूर्वाधार विकास कार्यालय, भरतपुर चितवनले निर्माण व्यवसायी शिवशक्ति, सिद्धार्थ शिवम जे भी मकवानपुरसँग ठेक्का सम्झौता गरेको थियो ।

लालझाडीका स्थानीयलाई हेटाैंडा बजार आवतजावत गर्न सहजताका लागि पक्की पुल निर्माण सुरु गरिएकाे थियाे । २ वर्ष अघि काम सुरु भएको भएतापनी काम भने एक छेउ पनि भएको छैन ।

पुल बनाउन सुरु गर्दा घण्टाको एक सय लिएर काम गरेका स्थानीय  चेतबहादुर तामाङ भन्छन् ,” ३ वर्ष अघि बाट पुल बनाउन सुरु गरेको भएतापनि बजेट अभावको कारण देखाउदै पुल बनाउने कार्य अलपत्र छोडिएको छ भने  पुन  बजेट बढेर आयो भनी ३,४ दिन अघिबाट ७ जना कामदारहरुले   पुल निर्माणको   काम सुरु गरेका छन् । वर्षायाम नजिकिन लागेको र फेरि केही महिनामा काम बन्द  हुने उनी बताउँछन् । काम सुरु गरेको ३ वर्ष भइसक्दा पनि एउटा  पिल्लर उठाएर तट बानेर छोडिएको उनी बताउँछन् । वर्षायाममा विद्यालय जाने बालबालिकालाई लामो बाटो हिडेर पुल सम्म आइ बजार निस्कनु पर्ने र कोहि बिरामी परिहाले बोकेर लामो बाटो हिँडेर आउनु पर्ने समस्या रहेको तामाङ बताउँछन् ।

स्थानीय विष्णु बहादुर गोलेका अनुसार पुल निर्माणकाे क्रममा पहिलो वर्ष एक ठाउँ खनियो फेरि दोश्रो वर्ष  मात्र काम सुरु भयो अर्को ठाउँ खनियो र ३ स्टेप ढलान गरी  अलपत्र छोडिएकाे छ ।

गएको जेष्ठ महिनामै सम्पन्न गर्नु पर्ने काम निर्माण कम्पनीले  ढिला सुस्ती गरेको कारण सम्पन्न हुन नसकेको र जनताले दुःख पाइरहेका हेटाैंडा १ नम्बर वडा अध्यक्ष सविन न्यौपानेले बताए । जनतालाई चित्त बुझ्दो काम ठेक्दारले नगरेको उनले बताए ।

निर्माण व्यवसायी सुरेन्द्र पाठकको अनुसार पुल निर्माणका लागि भएको सम्झौता  समय सक्किएको भएता पनि प्राविधिक समस्याको कारण काममा ढिलाइ भएको हो । सुरुमा दिइएको डिजाइन फेल भएको र अहिले अर्को डिजाइन फाइनल भएर नआइपुगेले काममा ढिलासुस्ती भएको छ ।

सडकबाट पास हुने भन्दा ४ मिटर तलको डिजाइन भएको र रोडबाट हाम्फालेर पुलमा जानू पर्ने डिजाइन बनाइए पछि डिजाइन फेरि बनाउन पर्ने भएको र डिजाइन बनाउनै  ढिला गरेको कारण काम अगाडि बढ्न नसकेको पाठकको भनाइ छ ।

केही समय अघि छलफल भइ अहिले तलको काम गर्दै गर्ने र  समय थप सहित डिजाइन  छिट्टै दिने सहमति भएपछि काम पुन सुरु गरिएको पाठकले बताए ।

पुर्वाधार विकास कार्यालय चितवनका कार्यालय प्रमुख विरेन्द्र कुमार चौधरीका अनुसार २०७८ जेठ १८ गते सम्झौता   भइ  २०८० जेठ १८ गते सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । ८ करोड ४७ लाख ८० हजारमा सम्झौता भएकोमा ६८ लाख २० हजार रकम ठेकदार कम्पनीले बुझिसकेका छन् ।

अब २०८१ जेठ ८ गते सम्म काम सम्पन्न गर्नु पर्ने गरी सम्झौता थप गरिएको र  जेठमा काम सम्पन्न भएन भने जरिवानामा थप ६ महिना समयअवधी थपिने र सो अवधिमा पनि सम्पन्न हुन सकेन भने निर्माण कम्पनी कालो सूचीमा पर्ने कार्यालय प्रमुख चौधरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस् :