दुग्ध उत्पादक विशिष्टिकृत सहकारी संघ मकवानपुरगढीको चुनौति पञ्छाउने प्रयासमा अध्यक्ष रेग्मी

हेटौंडा, ३ माघ / दुग्ध उत्पादक विशिष्टिकृत सहकारी संघ मकवानपुरगढीका अध्यक्ष जनक रेग्मीले यस संघमा रहेका विविध चुनौतिहरु पञ्छाउने प्रयास भईरहेको बताएका छन् । हालै सम्पन्न भेलाबाट अध्यक्ष पदमा चयन भएका रेग्मीले संघको कार्यभार सम्हालेपछि पहिलो पटक एक आमसञ्चारकर्मीसँग कुरा गर्दै यस्तो प्रयासको थालनी भएको बताएका हुन् ।

रेडियो मकवानपुुुरगढीका प्रबन्ध निर्देशक एमपी शर्मासँग कुरा गर्दै झण्डै ३ करोड रुपैयाको लागतमा मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ कालिखोलामा स्थापित मकवानपुरगढी दाना उद्योग लामो समयदेखि बन्द रहेको र अब छिट्टै यो उद्योग सञ्चालनमा ल्याउन आफूले यथासक्य प्रयास गर्ने नवनिर्वाचित अध्यक्ष रेग्मीले जानकारी दिए । रेग्मीले भनेका छन् ‘स्थानीय, प्रदेश र संघीय सरकारका साथै स्थानीय दुग्ध उत्पादक सहकारी संस्था र उपभोक्ताको समेत लगानी रहेको यो उद्योगलाई सञ्चालनमा ल्याएर किसानले पालेको गाई, भैंसीलगायतका पशुपंक्षिलाई चाहिने गुणस्तरीय दाना सुपथ मूल्यमै उपलब्ध गराउन म प्रतिबद्धता ब्यक्त गर्छु ।’

Advertisement:

नवनिर्वाचित अध्यक्ष रेग्मीले आफूलाई स्थानीय दुग्ध उत्पादक कृषकहरुले ठूलै जिम्मेवारी सुम्पिएको बोध भएको र संघमा देखिएका सबै खाले अवरोधहरु हटाएर उदाहरणीय काम गरेर मकवानपुरगढी दुग्ध उत्पादक बिशिष्टिकृत सहकारी संघलाई अग्रस्थानमा लैजान आफूसहितको कार्यसमितिको जिम्मेवारी भएको बताए । उद्योग सञ्चालनमा आएलगतै कोभिडको महामारी, कच्चा पदार्थको अभाव र आर्थिक मन्दीका साथै उधारोमा गएको दानाको बक्यौता नउठ्दा उद्योग सञ्चालनमा ल्याउन नसकिएको संघ अघिल्लो कार्यसमितिले जानकारी दिएको र त्यहि समस्यालाई निराकरण गर्न आफूसहितको संघको वर्तमान कार्यसमिति दत्तचित्तका साथ लाग्ने तयारीमा रहेको अध्यक्ष रेग्मीको भनाई छ ।

उद्योग सञ्चालनमा आएर सुपथ मुल्यमा पशुआहार पाउनेमा आशावादी स्थानीय दुग्ध उत्पादक किसानहरुमा समेत नयाँ कार्यसमिति चयन भएपछि उत्साह थपिएको अध्यक्ष रेग्मीले जानकारी दिएका छन् । संघमा अध्यक्षको कार्यभार ग्रहण गरेपछि तपाईले के कस्तो चुनौतिहरु देख्नु भएको छ ? भनेर राखिएको जिज्ञाषामा अध्यक्ष रेग्मीले भनेका छन् ‘बन्द उद्योग सञ्चालन गर्नु पर्ने, स्थानीय, प्रदेश र संघीय सरकारसँग समन्वय गरेर उद्योग सञ्चालन गर्न आवश्यक सहयोग जुटाउनु पर्ने, उद्योगमा उपभोक्ताको लगानी सुरक्षित गर्नु पर्ने, उद्योग सञ्चालन हुँदा दाना बिक्रिबाट उठ्न बाकी ५० लाख रुपैयाभन्दा बढि रकम उठाउनु पर्ने र आर्थिक पारदर्शिता कायम गरी उद्योेगमा लगानिको वाताबरण सिर्जना गर्नु पर्ने जस्ता चुनौतिहरुको हामीले सामना गर्नु पर्ने छ ।’

त्यसैगरी संघको नयाँ कार्यसमितिले उद्योग सञ्चालनका लागि कच्चा पदार्थ खरिद मेसिन मर्मतका लागि आवश्यक पँुजी जोहो गर्नु पर्ने र उद्योगबाट उत्पादित पशुदाना स्थानीय दुग्ध सहकारी मार्फत किसानलाई सहज रुपमा बिक्रि बितरणको ब्यबस्था मिलाउनु पर्ने साथै उद्योगमा स्थानीयलाई नै रोजगारीको अवसरका लागि प्राथमिकतामा राख्नु पर्ने जस्ता चुनौतिहरु आफूहरुमा रहेको पनि उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस् :