लेखक शिव न्यौपानेसहित ७ असाधारण नेपाली प्रतिभा अष्ट्रेलियामा सम्मानित

अष्ट्रेलिया, ६ माघ / अस्ट्रेलिया लगायत विश्वभरबाट नेपाललाई प्रबद्र्धन गर्न आफ्नो समय, सीप र पेशा समर्पण गर्ने व्यक्तिहरूलाई सम्मान गर्न यस वर्षको पृथ्वी उत्कृष्ट सम्मान –२४ को अष्ट्रेलियामा घोषणा भएको छ । ३ सय २ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा अष्ट्रेलियामा एक भव्य कार्यक्रमको आयोजना गरी उक्त सम्मानको घोषणा गरिएको हो ।

प्रवासी नेपालीहरुले झण्डै ४ दशकदेखि स्वतःस्फूर्त रुपमा मनाउदै आएको एकता दिवस एवं पृथ्वी जयन्तीको अवसरमा आयोजना गरिएका कार्यक्रमहरुका विभिन्न विधामध्ये पृथ्वी उत्कृष्ट सम्मान २०२४ पनि रहेको बताईएको छ । प्रबासी नेपाली एकता समाज अस्ट्रेलियाले आयोजना गरेको उक्त कार्यक्रममा ‘पृथ्वी एक्सीलेन्स अवार्ड २४’ यस वर्ष ७ जना नेपाली प्रतिभाहरुलाई प्रदान गरिएको छ ।

Advertisement:

एकता दिवस तथा पृथ्वी जयन्तीको अवसरमा प्रदान गरिने ‘पृथ्वी उत्कृष्ट सम्मान २४’ प्राप्त गर्ने नेपाली प्रतिभाहरुमा अष्ट्रेलियामा बसोबास गर्दै आएका लेखक शिव न्यौपानेसहित रेनुका लामा, अञ्जना वस्नेत, सुजन शिल्पकार, सरल गुरुङ, शर्मीला श्रेष्ठ र श्वेता शर्मा रिमाल रहेका छन् । गत वर्ष १ लाख शब्दहरु समेटिएको विश्वभरका खाद्य पाक वस्तुहरुको शब्दकोष पुस्तक ‘फलाङ् फुड डिक्सनरी लेखेका लेखक एवं पत्रकार शिव न्यौपानेलाई यस वर्षको ‘लिटरेरी एचिभमेन्ट एण्ड लेक्जिकोग्राफी एक्सीलेन्स अवार्ड’ प्रदान गरिएको छ ।

त्यसैगरी पृथ्वी उत्कृष्ट सम्मान प्राप्त गर्ने अन्य प्रतिभाहरुमा महिला नेतृत्व सशक्तीकरणका लागि योगदान दिएबापत ‘इम्पावरमेन्ट इन लिडरसीप अवार्ड’ प्राप्त गर्नेहरुमा अञ्जना बस्नेत र रेनुका लामा रहेका छन् भने खेलकूदतर्फ ग्लोबल फिट्नेस च्याम्पिएन अवार्ड सुजन शिल्पकारले प्राप्त गरेका छन् । त्यस्तै ‘मिडिया एण्ड जर्नालिज्म एक्सीलेन्स अवार्ड’ सरल गुरुङलाई प्रदान गरिएको छ । पृथ्वी उत्कृष्ट सम्मान २४ महिला सशक्तीकरणमा भूमिका खेलेबापत ‘उमन इम्पावरमेन्ट एक्सीलेन्स अवार्ड’ ले शर्मिला श्रेष्ठ र स्वेता शर्मा रिमाललाई सम्मान गरिएको छ ।

अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री स्कट मोरिसनले बहुसांस्कृतिक खानाका लागि उपयुक्त गाईडका रुपमा लेखक शिव न्यौपानेले लेखेको खाद्य पाक शब्दकोष ‘फलाङ फूड डिक्सनरी’ एउटा नयाँ छलाङको रुपमा आएको भन्दै पत्र मार्फत प्रशंसा गरेका थिए । लेखक न्यौपानद्वारा लिखित उक्त शब्दकोषले आफ्नो ध्यानाकर्षण गराएको भन्दै पाक उत्कृष्टता मार्फत सांस्कृतिक विविधतालाई महत्व दिएर तयार गरिएको सो पुस्तकले सुन्दर ग्रह पृथ्वीको वरिपरि विदेशी स्वादहरू बनाउने सबै पक्षहरू समेटिएकोमा समेत पत्रमार्फत पूर्व प्रधानमन्त्री मोरिसनले लेखक न्यौपानेको थप प्रंशसा गरेको विषयमा चर्चा समेत उक्त कार्यक्रममा भएको थियो ।

कार्यक्रमबाट सम्मानित लेखक न्यौपानेले अष्ट्रेलियामा रहेका ५ जना असाधारण नेपाली प्रभावशाली व्यक्तिहरुलाई अवार्ड प्रदान गरिएकोमा जीवनकालको सजावटको लागि आफू अष्ट्रेलियाको युनाइटेड ओभरसिज नेपाली एसोसिएसन प्रति धेरै ऋणी रहेको र २४ वर्षको लेखन यात्रा अन्ततः सार्थक भएको महशुस गरेका छन् ।

प्रवासी नेपालीहरुको अष्ट्रेलिया ईतिहासमा यस पटक फरक उपलब्धीका रुपमा हेरिएको प्रवासी नेपाली एकता समाज अस्ट्रेलियाले यो कार्यक्रमलाई गर्विलो मानिएको छ । ओशिनियाको आयोजनमा मनाईएको ३ सय २ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस समारोहका लागि संगठनका कार्यवाहक अध्यक्ष केदार श्रेष्ठ र संरक्षक समेत रहेका अग्रज दिपक बिष्टको अगुवाई रहेको थियो ।

त्यसैगरी कार्यक्रममा प्रमुख अतिथिका रुपमा नेपालबाट राप्रपाका वरिष्ठ नेता उपाध्यक्ष तथा संसदीय दलको उपनेता बुद्धिमान तामाङ, सह– महामन्त्री विजय खड्का, मधेश प्रदेशका अध्यक्ष भरत गिरी, प्रबासी नेपाली एकता समाज ग्लोबल अध्यक्ष प्रेम श्रेष्ठ, केन्द्रीय सदस्य सरस्वती लामा तामाङ समेतको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा बालबालिका समेत लिएर आएका सहभागीहरुले देशको आफ्ना साना नानी–बाबुले नेपाली हुनुको महत्व बोध गरेको बताए ।

३ सय २औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस कार्यक्रम प्रबासी नेपाली एकता समाज अस्ट्रेलियाका पूर्व अध्यक्ष तथा संरक्षक अजय राजवंशीले सञ्चालन गर्नुभएको थियो। एडिलेडका विभिन्न संघसंस्थाका अतिथिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस् :