आउँदो २४ घण्टामा एक–दुई स्थानमा हिमपातको सम्भावना

Snowfall-in-Nepal

तातोखबर, काठमाडौँ / जल तथा मौसम विज्ञान विभागले यस वर्षको हिउँदमा औसतभन्दा बढी पानी पर्ने अनुमान गरेको भए पनि माघको पहिलो सातासम्म खासै वर्षा हुनसकेको छैन ।

हिउँदयामको यही माघ ४ गतेसम्मको प्राप्त विवरणअनुसार देशभरिका २० वटा मापन स्टेशनको तथ्यांकमा साढे ४ मिलिमिटरमात्र वर्षा भएको छ।

Advertisement:Snowfall-in-Nepal

देशभरि कूल २ दशमलव ५ मिलिमिटर मात्रै वर्षा भएको जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी विभूति पोखरेलले बताइन्।

‘यो औसतभन्दा निकै न्यून वर्षा मापन हो, यो मापन २० स्टेशनको मात्रै हो, जलवायु परिवर्तनलगायत विभिन्न कारणले यसपल्ट पश्चिमी वायु सक्रिय हुन सकेको छैन,’ उनले भने, ‘हिउँद अझै बाँकी भएकाले पानी पर्ने सम्भावना भने कायम रहन्छ।’

उनका अनुसार अहिले वर्षा हुने छाँटकाँट देखिएको छैन। मंसिर १५ देखि फागुन १७ गतेसम्मको अवधि हिउँदयाम हो। यस अवधिमा हुने सरदर वर्षा ६० दशमलव १ मिलिमिटरलाई औसत वर्षा मानिएको छ।

सूचना अधिकारी पोखरेलले अहिलेसम्म वर्षा न्यून भयो भनेर यो यामभरिकै विष्लेषण गर्ने वेला भने भइनसकेको बताइन् ।

यसपालि नेपालमा मात्रै नभएर भारतको हिमाली क्षेत्रमा पनि अनुमान नमिलेको बताउँदै उनले जलवायु परिवर्तनको असरलगायत कारण थोरै वर्षा हुन थालेको जिकिर गरिन् ।

‘मुख्यतः पश्चिमी वायुको असरले नै वर्षा गराउने हो। अहिलेसम्म सक्रिय रुपमा वर्षा देखिनुपर्ने हो तर देखिएको छैन। पछिल्लो हप्ता चिसो भने बढेको छ‚’ उनले बताइन् ।

यसरी वर्षा नहुनु भनेको विश्वकै लागि एउटा चुनौती भएको पनि विभागले जनाएको छ। यो याममा मात्रै होइन वर्षाका वेलामा पनि मौसम घटबढ देखिएको उनले बताइन् ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव परिरहेको छ ।

आउँदो २४ घण्टामा कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हलुका हिमपातको सम्भावना छ ।

तराईका अधिकांश स्थानमा हुस्सु/कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा असर पर्न सक्ने जनाइएको छ ।

त्यसबाट हुनसक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस् :