जनतासँग साक्षात्कार गर्न गाउँ छिर्दै कांग्रेस

मकवानपुर – नेपाली कांग्रेस मकवानपुरले ‘समुदायमा कांग्रेस’ अभियान सुरु गरेको छ ।केन्द्रीय निर्देशन बमोजिम जिल्लामा पनि अभियान सुरु गरिएको र औपचारिक सुभारम्भ भने माघ १६ गते सहिद दिवसको दिनबाट हुने सभापति बुद्ध लामाले जानकारी दिए ।
यो अभियान माघ २६ गतेसम्म सञ्चालन हुने र त्यस अवधिमा समुदायस्तरमा प्रत्यक्ष साक्षात्कार भई स्थानीय तहबाट हुने सेवा प्रवाह, विकास निर्माणको अवलोकन तथा आम नागरिकका गुनासा र सुझावलाई वडा स्तरबाटै कार्यान्वयन गराउन पहलकदमी लिने गरी अभियान सुरु गरिएको लामाले बताए ।
अभियानका लागि केन्द्रीय प्रतिनिधिको रुपमा राजन केसी मकवानपुर आइसकेका छन् । जिल्लाको १०२ वटै वडामा पुग्नका लागि प्रतिनिधि तोकिएको छ । आज कांग्रेस मकवानपुरले विस्तारित बैठक बोलाई पार्टीका विभिन्न जिम्मेवारीमा रहेका व्यक्तिहरु तथा समग्र कार्यकर्ताहरुलाई अभियानमा सक्रिय सहभागी हुन आग्रह समेत गरेको छ ।
पार्टीका केन्द्रदेखि वडा तहसम्मका पदाधिकारी एवं सदस्य, विभिन्न भ्रातृ संगठन तथा शुभेच्छुक संस्थामा आबद्ध केन्द्रदेखि स्थानीय तहसम्मका प्रतिनिधिलाई एकसाथ परिचालन गरी यो कार्यक्रम देशैभरी भइरहेको लामाले बताए ।
अभियानका क्रममा खटाइएका प्रतिनिधि जिल्ला तथा वडा स्तरमा हुने कुनै न कुनै श्रमसँग सम्बन्धित काम वा सामाजिक कार्यमा अनिवार्य रुपमा सहभागी हुनुपर्ने जिल्ला सचिव भीमसेन महतले जानकारी दिए ।
अभियानका क्रममा वडावासीसँग खुल्ला छलफल गरी तीनवटै तहका सरकारसंगका जनताको अपेक्षा, गुनासा र सुझाव सुन्ने पार्टीका बारेमा जनताका सुझाव लिइने उनले बताए ।
अभियानकै क्रममा स्थानीय तहले गरिरहेका सेवा प्रवाह, स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य सेवा केन्द्र, विद्यालय, विकास निर्माण आयोजना, समूदाय र नीजि क्षेत्रको प्रयासमा भएका कामहरु लगायतको अवलोकन गरी सेवा प्रवाहको अवस्था बुझ्नुको साथै त्यसको अवस्था र समस्या समाधानको पहल गरिने सचिव महतले बताए ।
अभियान कांग्रेका स्वर्गीय नेता सुशिल कोइरालाको स्मृति दिवसको दिन माघ २६ गते समापन गरिने जनाइएको छ ।

Advertisement:

प्रतिक्रिया दिनुहोस् :